
पोखरा । गण्डकी प्रदेशमा ९ मिलियन अमेरिकी डलरको लगानीमा गण्डकी प्राविधिक प्रतिष्ठान बन्ने भएको छ।
कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को सहयोगमा प्राविधिक प्रतिष्ठान बन्ने भएको हो।
कोइका र प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयले ‘गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक प्रतिष्ठानअन्तर्गत गण्डकी इन्स्टिच्युट टेक्नोलोजीको पूर्वाधार विकास’ परियोजनाको लागि सहमतिमा हस्ताक्षर गरे।
सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डे र कोइकाका नेपालका कन्ट्री डाइरेक्टर मुहन कोङ्ले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितिमा हस्ताक्षर भएको हो।
यस परियोजनाको लागि कोरिया सरकारले कोइकामार्फत ९ मिलियन अमेरिकी डलर खर्च गर्नेछ।
परियोजना २०२५ मा सुरु भई पाँच वर्षसम्म चल्नेछ। यस परियोजना कोइका र गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक प्रतिष्ठान (जीटीईभीटीए) ले कार्यान्वयन गर्नेछन्।
साथै मुख्यमन्त्री पाण्डेले फेदीखोलामा जीटीईभीटीए भवनको शिलान्यास गरे। उक्त समारोहमा गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापा, कोइका नेपालका देशीय निर्देशक मुहन् कोङ् तथा फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीको उपस्थिति थियो।
प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम नीति र १५औं राष्ट्रिय योजना अनुरूप २१ औं शताब्दीको घरेलु तथा विश्वव्यापी आवश्यकताहरू पूरा गर्न सक्षम जनशक्ति उत्पादन गर्ने यस परियोजनाको मुख्य उद्देश्य रहेको छ।
कोइकाले प्राविधिक संस्थान भवन निर्माणका साथै आवश्यक उपकरण, फर्निचर र सिकाइ सुविधासहितको कक्षा, कार्यशाला र महिला विध्यार्थी छात्रावास निर्माण गर्ने योजना बनाएको छ।
त्यसैगरी, कोइकाले स्थानीय आवश्यकता अनुसार छोटो अवधिको तालिम, संस्थानको सञ्चालन कार्ययोजना, करियर सर्भिस प्याकेज र उद्योसँगको साझेदारीलाई पहिचान गर्न उक्त संस्थानको गुरु योजना विकासका लागि प्राविधिक सहयोग पनि प्रदान गर्नेछ।
कोरिया गणतन्त्र सरकारले सन् १९९१ देखि स्वास्थ्य, शिक्षा, कृषि, सूचना प्रविधि र ग्रामीण विकासका विभिन्न क्षेत्रमा कोइकामार्फत नेपाल सरकारलाई सहयोग गर्दै आएको छ।
