
पोखरा। गण्डकी प्रदेशका एक लाखभन्दा बढी छात्रालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप दिइने भएको छ। माघ २२ गते विश्व क्यान्सर दिवसको दिनदेखि फागुन ६ गतेसम्म देशैभरि यो खोप अभियान सञ्चालन हुँदैछ। यही अभियानका क्रममा गण्डकीका १ लाख ५ हजार ४ सय ७९ जनालाई खोप दिन लागिएको हो।
यसका लागि प्रदेशमा आवश्यक तयारी पूरा भएको प्रादेशिक स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ। निर्देशनालयले शुक्रबार प्रदेशस्तरीय खोप समितिका पदाधिकारीका लागि अभिमुखीकरण तथा पत्रकार एवं सञ्चारकर्मीबीच अन्तरक्रिया गर्दै खोप पूर्णरुपमा सुरक्षित रहेको जनाएको छ।
नि:शुल्क उपलब्ध हुने र जीवन रक्षा गर्ने भएकाले १० देखि १४ वर्षसम्म उमेर समूहका सबै किशोरीलाई खोप लगाउन निर्देशनालयले अनुरोध गरेको छ। ६ देखि १० कक्षासम्म अध्ययनरत छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई अभियानमा सहभागी गराइने निर्देशनालयका खोप अधिकृत एकनारायण लम्सालले बताए।
खोपका लागि विद्यालय र अन्य स्थानमा गरी २ हजार ५ सय ४ खोप केन्द्र तोकिएको छ। ६ देखि १० कक्षासम्म छात्रा र स्कुल नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइने
पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याका रूपमा नरहने अवस्थामा पुर्याउन सरकारले सन् २०३० सम्म तीन वटा लक्ष्य निर्धारण गरेको छ। जसअनुसार १० देखि १४ वर्षसम्म उमेरका किशोरीलाई एचपिभी खोप दिने, ३० देखि ४९ वर्ष उमेरका महिलाको पाठेघरको मुखको परीक्षण (स्क्रिनिङ) गर्ने र पाठेघरको मुखको क्यान्सर भएका महिलाको उपचार गर्ने लक्ष्यमा छन्।
कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठक, जिल्ला समन्वय समिति कास्की प्रमुख लीलाधर पौडेल, निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्का लगायतले नेपालमा पाठेघरको मुखको क्यान्सरका बिरामी र मृत्यु हुनेको संख्या हरेक वर्ष उच्च रहेकाले रोग निवारणमा खोप अभियानले योगदान पुर्याउने विश्वास व्यक्त गरे।
नेपालमा बर्सेनि २ हजार १ सय ६९ महिलालाई पाठेघरको मुखको क्यान्सर हुने र उनीहरुमध्ये वर्षमा १ हजार ३ सय १३ जना अर्थात दैनिक ४ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने अनुमान गरिएको छ। महिलामा हुने क्यान्सरमध्ये यो दोस्रो मुख्य हो। क्यान्सरबाट महिलाको मृत्यु हुने यो पहिलो मुख्य कारण बनेको छ।
