
प्युठानको गौमुखी गाउँपालिका–५ का ६९ वर्षीय चिन्तामणि उपाध्यायको हत्या आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ।
प्रहरीले आइतबार पत्रकार सम्मेलनमार्फत गौमुखी गाउँपालिका–५ का ५१ वर्षीय लोकबहादुर गिरी र ५० वर्षीया जेदु कुमारी न्यौपानेलाई सार्वजनिक गरेको हो। उनीहरू नाताले ज्वाइँ–सासु हुन्। लोकबहादुर, जेदुकी बहिनीका श्रीमान् हुन्।
प्रहरी अनुसन्धानका अनुसार, उपाध्यायलाई लोकबहादुर र जेदु कुमारीले ढुङ्गा र बन्दुकको बटले हानेर हत्या गरेका थिए। यही माघ १९ गते बिहान गौमुखी गाउँपालिका–५ उपल्लो फुर्सेधारास्थित खुङ्ग–नारिकोट जोड्ने कच्ची सडकमा उपाध्याय मृत अवस्थामा भेटिएका थिए। उनको टाउको, अनुहार, नाक र मुखमा गहिरो चोट देखिएको थियो।
अनुसन्धानका क्रममा जेदु कुमारीले सुरुमा चिन्तामणिसँग सम्बन्ध अगाडि बढाए पनि पछि आफ्नै ज्वाइँ लोकबहादुरसँग समेत सम्बन्ध राखेको खुलेको छ। एक वर्षअघि चिन्तामणिले उनीहरूलाई आपत्तिजनक अवस्थामा देखेपछि चुकुल लगाएर थुनेका थिए। यही रिसको बदलाका लागि जेदु र लोकबहादुरले हत्या योजना बनाएको प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए।
घटनाको अनुसन्धानमा जुटेको प्रहरी टोलीले २४ घण्टा नबित्दै जेदुलाई उनको घरबाट र लोकबहादुरलाई जंगल बाट पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा प्रहरीले उनीहरूबाट एक थान भरुवा बन्दुक, मोबाइल र नगद सात हजार रुपैयाँ बरामद गरेको छ।
पुरानो रिसइबी, मदिरा सेवन र अवैध सम्बन्धका कारण हत्या भएको प्रहरी निष्कर्ष छ। दुवैले अपराध स्वीकार गरिसकेका छन्, र कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
