बाल्यकालमा पत्रिका बेच्थे अब्दुल कलाम

Share:

१३ साउन | सोमबार ८३ वर्षको उमेरमा दिवंगत भएका भारतका पूर्वराष्ट्रपति एपिजे अब्दुल कलाम वैज्ञानिक पनि थिए । ‘मिसाइल म्यान’को उपाधि पाएका उनी राजनीतिज्ञ र वैज्ञानिकका रुपमा मात्र नभई दार्शनिकका रुपमा पनि चिनिन्छन् । उनको बाल्यकाल भने धेरै सुखद् थिएन । ८ वर्षको उमेरमा उनी आफ्नो सहर रामेश्वरममा घरघरमा पत्रिका पुर्‍याउने काम गर्थे । उनले आफ्नो बाल्यकाल बारे ‘माइ जर्नी’ नामक पुस्तकमा विस्तृतमा उल्लेख गरेका छन् । त्यही पुस्तकबाट अनुवाद गरिएको एक अंश :

हरेक दिन बिहान म कहाँ तामिल र अंग्रेजी भाषाका थुप्रै पत्रिकाहरू आउँछन् । बाहिर भ्रमणमा रहेको बेला म भारतको समाचार विभिन्न पत्रपत्रिका समाचार तथा सम्पादकीयहरू अनलाईनबाट पढ्छु । अहिले सूचनाहरू औलाको एक क्लिक मात्र टाढा छन् । यसले मलाई सधैं अचम्मित बनाउँछ ।

म इन्जिनियरिङ र विज्ञानको मान्छे भएकाले प्राविधिक विकासले मलाई अचम्मित नबनाउनुपर्ने हो । तर, म ७० वर्ष अघिको दक्षिण भारतको सानो गाउँसँग तुलना गर्न पुग्छु त्यसैले अचम्मित हुन्छु ।

मेरो जन्म सन् १९३१ मा रामेश्वरममा भएको हो । म ८ वर्षको हुँदा दोस्रो विश्व युद्ध सुरु भएको थियो । बेलायतले जर्मनीसँग युद्धको घोषणा गरेको थियो । बेलायतको उपनिवेश भएको कारण भारत पनि युद्धमा होमिएको थियो । तथापि इन्डियन कँग्रेस त्यसको विपक्षमा उभिएको थियो ।

सन् १९४० मा रामेश्वरम सानो अल्छिलाग्दो सहर थियो । जो तीर्थयात्रीको बढ्दो संख्यासँगै यो भर्खरै उठ्न थालेको थियो । त्यहाँका अधिकांश बासिन्दाहरू सानो–ठूलो व्यापार गर्थे ।

रामेश्वरममा थुप्रै मन्दिरहरू थिए । यद्यपि त्यहाँ केही चर्च तथा मस्जिद पनि थिए । त्यहाँका मानिसको दैनिकी सामान्य र शान्त थियो । कहिले काँही कुनै गाउँ वा सहरमा सानोतिनो घटना घटे पनि महत्वपूर्ण कुरा केही हुँदैन थियो ।

बाहिरको समाचार र सूचना प्राप्त गर्ने एकमात्र माध्यम भनेको पत्रिका मात्रै हुन्थ्यो । पत्रपत्रिका बाँड्ने एजेन्सी मेरो नाता पर्ने दाइ समसुद्दीनले चलाउँथे । जलालुद्दीन पछि समसुद्दीनको प्रभाव पनि मेरो जीवनमा ठूलो रह्यो । समसुद्दीन सामान्य लेख पढ गर्न सक्ने भए पनि उनले उच्च शिक्षा हासिल गरेका थिएनन् । न धेरै घुमेका नै थिए । तर, उनी मलाई औधी रुचाउँथे र विभिन्न तरिकाले हौसला प्रदान गरिरहन्थे । त्यसैले जलालुद्दीन पछि उनी पनि मेरो जीवनको ज्योती नै थिए । यी दुई मानिसले मेरो अन्तर्मनका विचारहरू मैले नभनीकनै बुझ्न सक्थे । मरो लागि उनीहरू यस्ता युवा थिए जो आफ्नो दैनिकीभन्दा बाहिर निस्किएर दुनियाँलाई ठूलो रुपमा हेर्न सक्थे ।

समसुद्दीनको पत्रिका बाँड्ने एजेन्सी रामेश्वरममै एक्लो थियो । रामेश्वरममा लगभग हजारजना जति साक्षर मानिस थिए । उनी ती सबै कहाँ पत्रिका पुर्‍याउँथे । पत्रिकामा स्वतन्त्रता संग्राम सम्बन्धी समाचारहरू धेरै हुन्थ्यो । त्यतीबेला त्यो सबैभन्दा उत्कर्षमा थियो । यस्ता समाचार पढिन्थे र बजारमा छलफलका विषय पनि बन्थे ।

पत्रिकामा युद्धका समाचार पनि हुन्थे, हिटलर र नाजीका समाचार । त्यहाँ राशीफल र सुनचाँदीका दरका बारे पनि लेखिएको हुन्थ्यो । त्यो पनि सबैको चासोको विषय थियो । तामिल पत्रिका ‘दिनमणि’ सबैभन्दा प्रख्यात थियो ।

जुन प्रकारले रामेश्वरममा पत्रिका पुग्थ्यो त्यो आफैमा बेग्लै र रोचक प्रकारको थियो । पत्रिका बिहानको ट्रेनमा आउँथ्यो र रामेश्वरम स्टेसनमा झारिन्थ्यो । त्यहाँबाट सामसुद्दीनले त्यसलाई उठाउँथे र ग्राहकको घरसम्म पुर्‍याउँथे । यही सामसुद्दीनको व्यापार थियो ।

अन्तत: हामी पनि विश्व युद्धबाट अछुतो रहन सकेनौं । युद्धले मेरो जीवनको साथसाथै पत्रिका वितरणमा नजानिदो तरिका पनि असर गर्‍यो । ब्रिटिस सरकारले विभिन्न सामाग्रीमा बन्देज लगाएको थियो । देशका झन्डै संकटकालको जस्तै माहोल थियो । हाम्रो ठूलो परिवारलाई यसले नराम्रोसँग असर गरेको थियो । हाम्रो परिवारमा हामी ५ जना छोरा र एकजना छोरी, काकाको परिवार अलग्गै । मेरो आमा र हजुरआमालाई हामी सबैलाई भर पेट खुवाउन निकै मेहेनत गर्नुपर्ने भयो ।

रामेश्वरममा ट्रेन रोक्न बन्द गरिएको थियो । समसुद्दीनले पत्रिका प्राप्त गर्नका लागि जुक्ति निकाले । सबै पत्रिकालाई पोको पारेर राख्ने र ट्रेनबाट स्टेसनमा फ्याक्ने । त्यहाँ अब मेरो काम आयो । त्यसरी फालिएका पत्रिका बटुलेर ग्राहकको घरसम्म पुर्‍याउने ।

म त्यसबेला जम्मा आठ वर्षको थिएँ । तर, सानो उमेरमै पनि मेरो त्यो कामले घरमा ठूलै साहयता पुग्नेवाला थियो । किनकि दिनदिनै मेरी आमा र हजुरआमाको थालबाट खाना घट्न थालेको थियो । उहाँहरू हामी बच्चाहरूलाई पहिले खुवाउएर मात्रै खानुहुन्थ्यो । मैले सामसुद्दीनको उक्त प्रस्तावलाई कुनै सोच विचार नै नगरि हुन्छ भनिदिँए ।

मेरो यो नयाँ कामलाई आफ्नो दैनिकीसँग मिलाउन भने मेरो लागि निकै चुनौतीपूर्ण थियो । मेरो पढाई र स्कुल पहिलेझैँ निरन्तर हुनुपथ्र्यो । पत्रिका वितरणको काम यी सबैबीचको सामन्जस्यमा हुनु जरुरी थियो । मेरो भाइबहिनीहरू भन्दा मेरो गणित विषयमा धेरै नै लगाव थियो । त्यसैले बुवाले गणित विषयका लागि ट्युसनकै व्यवस्था पनि मिलाइदिनुभएको थियो ।

म सँगै अन्य चारजना बच्चा पनि शिक्षककहाँ गणितको ट्युसन पढ्न जान्थे । तर, ट्युसन पढाउने शिक्षकको एउटा सर्त थियो– सूर्योदय पूर्व नै नुहाएर उनी कहाँ पुग्नु पर्ने । त्यसैले वर्षदिनसम्म ट्युसन पढ्दा मलाई आमाले झिसमिसेमै उठाउनु हुन्थ्यो र नुहादिनुहुन्थ्यो । त्यहाँ म एक घन्टा पढ्थें र ५ बजे घर फर्किन्थें । त्यसपछि मलाई बुबाले नजिकैको अरबिक विद्यालयमा लानु हुन्थ्यो । त्यहाँ म कुरान–ए–सरिफ पढ्न सिक्थेँ ।

त्यो सकिए लगत्तै म दौडिँदै रेलवे स्टेसन पुग्थे र आउने ट्रेनको प्रतिक्षामा चनाखो भएर बस्थे । अहिले जस्तो त्योबेलाको ट्रेन निकै कममात्रै अवेर आउँथ्यो । सिठ्ठी फुक्दै ट्रेन आइपुगेपछि त्यसबाट फालिएको पत्रिका कहाँ बसेर बटुल्दा राम्रो हुन्छ भनेर म ठाउँ खोज्थे । त्यसपछि एकएक गरि पत्रिका ट्रेनबाट फ्याँकिन्थ्यो र म उठाउँथे । पत्रिका फालिसकेपछि सामसुद्दीनको मान्छेले ट्रेनबाट हात हल्लाउँथ्यो ।

त्यसपछि म पत्रिका बटुल्थेँ र भागबन्डा लगाउँथे अनि बाँड्न थाल्थें । मलाई यसरी रामेश्वरम वरपर पत्रिका बाँड्न एक घन्टा जति लाग्थ्यो । बिहान धेरैजना मलाई नै कुरीरहेका हुन्थे । मैले उनीहरूले पढ्ने पत्रिकाबाटै उनीहरूलाई चिन्न थालेको थिएँ । धेरैले मलाई अलमल नगरि घर जान भन्थे ताकि म विद्यालय समयमा पुगुँ । आठ वर्षे बालकले घरघरमा पत्रिका पुर्‍याएको देख्दा धेरैलाई मन पनि परेको थियो ।

पूर्वी तटमा ८ बजे काम सकाएर म घर पुग्दा घाम टाउको माथि पुगीसकेको हुन्थ्यो । आमा मेरो लागि नास्ता बनाएर कुरीरहनु हुन्थ्यो । सामान्य भए पनि मलाई सबै खानेकुरा राम्रोसँग खान भन्नुहुन्थ्यो । त्यसपछि म स्कुल जान्थें । मेरो काम त्यही सकिदैन थियो ।

स्कुलपछि म बिहान पत्रिका पुर्‍याएका ग्राहकको घरघर जान्थें, बाँकी रहेको पैसा उठाउनका लागि । पैसा उठाएर म सामसुद्दीनलाई भेटेर बुझाउँथे । त्यसपछि कतै समुद्रको किनारमा बसेर जलालुद्दीन र सामसुद्दीनले त्यस दिनको पत्रिका पल्टाउँथे । हामी सबैजनालाई पहिला ‘दिनमणि’ नै चाहिन्थ्यो । एकजनाले पत्रिका ठूलो स्वरमा वाचन गथ्र्यो अब बल्ल बाहिरी दुनियाँ हाम्रो दिमाग भित्र प्रवेश गथ्र्यो । गान्धी, काँग्रेस, हिटलर आदिका नाम बेलुकीको त्यो समुद्र किनारमा गुन्जयमान हुन्थ्यो ।

म ती सबैसँग त्यो दुनियामा हुँदा कस्तो होला भन्ने कल्पनामा डुब्थें । म कुनै न कुनै दिन मद्रास, बम्बे, कलकत्ता जस्तो ठूलो सहर पुग्ने कल्पनामा झुम्थें । कुनै दिन गान्धी वा नेहरुलाई प्रत्यक्ष भेटे के प्रश्न गर्ने भनेर सोच्थें । यस्ता कल्पना धेरै लामो समय टिक्दैन थियो, साथीहरूको खेल्नका लागि बोलावटबाट टुट्थ्यो । त्यसपछि गृहकार्य गुर्नपर्ने हुन्थ्यो । आठ वर्षे बालकसँग त्यो भन्दा बढी जोश हुँदैन थियो । म नौ बजे थकित भएर निदाइसकेको हुन्थेँ । अर्को दिन पुन: त्यही सबै दोहोरिन्थ्यो ।

यो दैनिकी करिब एकवर्षसम्म चल्यो । त्यो एक वर्ष पत्रिकाहरू बोकेर दौडदा म केही अग्लो र कालो भएको थिएँ । मैले अब पत्रिकाको कत्रो बन्डल बोकेर कति दौडनसक्छु भनेर थाह पाइसकेको थिएँ । त्यसैले म हरेक ठाउँमा हरेक दिन ठीक त्यही समयमा नै पुग्थें । समसुद्दीनलाई कुन ग्राहकले कति तिर्नुपर्ने छ मलाई कण्ठ थियो । कसकसले त्यसदिनको पत्रिकाको पैसा दिएनन् उनीहरुको नाम पनि मलाई कण्ठै हुन्थ्यो । मैले त्यस कामबाट हरेक दिन जेजस्तो आइपर्छ त्यो भोग्न तयार हुनुपर्छ भन्ने सिकेँ ।

गृहकार्य, पढाई र प्रार्थना सबै हरेक दिन हुन्थे । तर मद्रास–धनुसकोढी मेल मेरो लागि कहिल्यै रोकिदैन थियो । त्यसैले म त्यहाँ हरेक दिन ठीक समयमा पत्रिका समात्न ठीक ठाउँमा हुनैपथ्र्यो । यो मेरो लागि जीवनको पहिलो जिम्मेवारी थियो र समसुद्दीनलाई दिएको वाचा जुन मैले कसैगरि पनि पूरा गर्नुपथ्र्यो । त्यो मेरो जीवनको सबैभन्दा रमाइलो क्षण थियो । मैले त्यसको हरेक पललाई रमाएर आत्मसात गरेँ ।

मेरी आमाले मलाई हरेक रात यति धेरै परिश्रम नगर्न भन्नुहुन्थ्यो । म थकित अनुहार लगाएर मुस्काइदिन्थे । मेरो अन्तरआत्माले भन्थ्यो, आठ वर्षको उमेरमै मैले गरेको कामले मेरो परिवारलाई सहयोग पुगेको थियो र त्यसमा आमालाई गर्व थियो ।

ईकान्तिपुरबाट

कमेन्ट गर्नुहोस्
Share: