
पोखरा । राष्ट्रपति रामचन्द्र पौडेल भोली शनिबार पोखरा आउने भएका छन्। सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सवको उद्घाटन गर्न पौडेल पोखरा आउन लागेका हुन्।
उनी नेपाली सेनाको हेलिकप्टरमार्फत बिहान १० बजे काठमाडौँबाट सिधै सराङकोट धाम आउने
उनको कार्यालयले जनाएको छ।
राष्ट्रपति पौडेलले महाउत्सवसँगै सराङकोट टपमा निर्माण भएका विशाल पञ्चमुखी गणेश मुर्ति, कैलाशेश्वर शिव मन्दिर लगायतका देवालय, १०८ शिललिङ तथा धाराको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
राष्ट्रपति पौडेलसँगै संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री बद्रीप्रसाद पाण्डे, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य लगायतले पनि सम्बोधन गर्ने सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीले जानकारी दिए।
सराङकोटमा राष्ट्रपति आउने भएपछि सुरक्षा व्यवस्थाका लागि कास्कीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायमा प्रमुख एवम् प्रतिनिधिले सराङकोटको अवस्थाबारे अवलोकन गरेको बताइएको छ।
सराङकोटमा यही फागुन १४ गते शिवरात्रीको दिनदेखि श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव जारी छ। महाउत्सवको तेस्रो दिन आजसम्म ६५ लाख बढी दान संकलन भएको जनाइएको छ।
यस्तै, आज पोखरा- ८ पृथ्वीचोक निवासी पण्डित ज्योतिष लिलाधर पौडेल परिवारबाट पाँच लाख ११ हजार १ सय ११, कास्कीकोट सराङकोट आमा समूहबाट रु.५१ हजार ५ सय ५५, राष्ट्रिय परोपकार महासंघ पोखरा १५ बाट रु.२५ हजार ७ सय ८५ तथा अन्य दाताको समेत गरी १० लाख बढी रकम संकलन भएको महायज्ञका कोषाध्यक्ष शिवप्रसाद कोइरालाले जानकारी दिए।
सराङकोटमा २०६१ सालदेखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ। हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङ, १०८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमे कालिका, स्वागतद्वार निर्माण भएका छन्। ती संरचना निर्माणमा हालसम्म ३५ करोड बढी खर्च भइसकेको छ।
सराङकोटमा अझै १५ करोडका संरचना निर्माण गर्ने समितिले लक्ष्य राखेको छ। महाउत्सवका अवसरमा सामुहिक ब्रतबन्ध, लाख बत्ती बाल्ने, ग्रह शान्ति, रुद्री, चौरासी पुजा तथा संगीतमय भजन कृर्तन भइरहेको प्रसारप्रसार संयोजक कृष्ण थापाले जानकारी दिए। यहाँ भागवत् भाष्कर पण्डित कमलनयन गौतमले कथा प्रवचन गरिसकेका छन्।
