
रञ्जन अधिकारी पोखरा, ३० साउन / नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले लेखनाथका पार्टी नेता रामजी पौडेल बादलको हत्या हुनु आफ्नो हात नै भाँचिए जस्तो महसुस भईरहेको बताएका छन् । उनले ईमान्दार कार्यकर्ताको हत्याले पार्टीलाई ठूलो क्षति भएको बताउँदै हत्यारा मात्रै नभई योजनाकारलाई समेत नछाड्ने चेतावनी दिए ।
नेपाली काँग्रेस कास्कीको पार्टी कार्यालय, चिप्लेढुंगामा शनिबार भएको श्रद्धाञ्जलीसभामा बोल्दै देउवाले इमान्दार र कर्तव्यनिष्ठ कार्यकर्ताको हत्याबाट मर्माहीत भएको उल्लेख गरे । ‘पाशविक, जघन्य र कायरतापूर्ण हत्या गरिएको छ । हत्याराहरु र यसका योजनाकारहरुलाई कुनै हालतमा छाडिन्न ।’ उनले भने– ‘उनीहरुलाई पक्राउ गरी कडा भन्दा कडा कारबाही हुने विश्वास दिलाउन चाहन्छु ।’ देउवाले रामजी बादल आफ्नो मित्र भएको उल्लेख गर्दै आफ्नो तबरबाट हत्यारालाई कठघरामा उभ्याउने सवालमा कुनै कसर बाँकी नराख्ने पनि उल्लेख गरे ।
श्रद्धाञ्जलीसभामा वरिष्ठ नेता देउवासँगै पार्टीका महामन्त्री तथा उपप्रधानमन्त्री प्रकाशमान सिंहले पार्टीको झण्डा ओढाएका थिए । सिंचाईमन्त्री एनपी साउद, नेता गोपालमान श्रेष्ठ, चन्द्र भण्डारी, पूर्वसभामुख तारानाथ रानाभाट लगायतका नेता तथा सभासद्हरु पनि अन्तिम श्रद्धाञ्जलीमा सहभागी भए । उनीहरु परिवारलाई भेट्न लेखनाथस्थित घरमा समेत पुगेका थिए ।
उपप्रधानमन्त्री सिंहले प्रधानमन्त्री तथा पार्टी सभापति शुशिल कोईरालाको व्यस्तताका कारण आफू आएको भन्दै सबैलाई संयमित हुन आग्रह गरे । उनले यसो भनिरहँदा सभामा भने केन्द्रस्तरबाट देउवा पक्षीय नेताहरुको मात्रै उपस्थिति थियो । सिंहले अपराधीहरुलाई चाँडै नै पत्ता लगाएर कडा भन्दा कडा कारबाही गर्ने बताउँदै हत्याको छानविन गरी सत्यतथ्य उजागर हुने विश्वास दिलाए ।
अन्तिम श्रद्धाञ्जली दिन सहभागी भएकाहरुले पार्टीभित्रैबाट ईमान्दार कार्यकर्ताको हत्या हुनु दुर्भाग्यपूर्ण भन्दै पार्टी गम्भीर बन्नुपर्ने बताएका थिए । कति आक्रोशित थिए त धेरै मलिन अनुहारमा सहभागी थिए । २०३५ सालदेखि सँगै राजनीतिमा होमिएका काँग्रेसका स्थानीय कार्यकर्ता चन्द्रबहादुर रानाभाटले पार्टीभित्र विखण्डनवादी हावी भएको बताउँदै महाधिवेशनको पूर्वसन्ध्यामा राम्रा र ईमान्दार कार्यकर्तालाई पाखा लगाउने षड्यन्त्र हुनु अत्यन्त दुर्भाग्यपूर्ण भएको बताए ।
हत्यारा पक्राउ नगरेसम्म शव उठाउन नदिने अडानमा रहेका परिवारजन नेता देउवा र सिंहसँग भेटपछि शनिबार नै अन्तिम संस्कार गर्न तयार भए । परिवारजनले असुरक्षा महसुस गरिरहेका छन् । मृतक रामजी बादलका भाइ प्रभु पौडेलले प्रजातान्त्रिक भन्ने पार्टीले अप्रजातान्त्रिक कार्य गरेको भन्दै पार्टी नेतृत्व गम्भीर बन्नुपर्ने बताए । जन्म नै काँग्रेसी भएर जन्मेका दाइलाई आज काँग्रेसले यति लामो योगदानपछि यसरी हत्या गरेर सेवाको सम्मान गरेको भन्दै दुःख व्यक्त गरे । ‘बाहिरको दुस्मनबाट असुरक्षित छु भनेर भन्ने दिन गए अब ।’ उनले थपे– ‘राम्रा मान्छेहरुलाई पदकै लागि यसरी पार्टीबाट मात्रै होईन, जीन्दगीबाटै हुत्याईदिने रहेछन् ।’
श्रद्धाञ्जलीपछि पौडेलको शवलाई प्रहरी स्कर्टिङमा लेखनाथ नगरपरिक्रमा गराई साँझ नै मुसेटुँडा स्थित सेती घाटमा दाहसंस्कार गरियो । चिप्लेढुंगाबाट विजयपुर, सिलिङ्गे, जलधारे हुँदै जन्मथलो अर्चले पु¥याई शिशुवा गगनगौडा हुँदै मुसेटुँडा पु¥याईको परिवारले बताएका छन् ।
यसैबीच, हत्यामा संलग्न भएको भन्दै परिवारबाट किटानी जाहेरी भएपछि प्रहरीले कांग्रेस लेखनाथ नगर सभापति राजेन्द्रमणि लामिछानेलाई शनिबार बिहान पक्राउ गरेको छ । कास्कीका प्रहरी प्रमुख एसपी हरिबहादुर पालले लामिछानेलाई पक्राउ गरेको जानकारी दिएका छन् ।
‘हत्यामा संलग्न भएको आशंकामा हामीले लामिछानेलाइ पोखराबाट पक्राउ गरेका हौं ।‘ उनले भने, परिवारले पनि किटानी जाहेरी दिएपछि पक्राउ गरेका हौ । प्रहरीले लेखनाथ–१६ का इकाइ सभापति राजु रानाभाट शुक्रबार नै पक्राउ गरेको थियो । हत्यामा संलग्न अरु तीनजना विश्वास गौतम, रविन केसी, प्रकाश गुरुङको खोजी भैरहेको कास्की प्रहरीले जनाएको छ ।
भदौ तेश्रो साता हुने भनिएको कांग्रेस लेखनाथ नगर अधिवेशनमा सभापतिका लागि नारायण तिवारी र वर्तमान सभापति राजेन्द्रमणि लामिछानेको चर्चा थियो । संस्थापन पक्षका लामिछाने तर्फका युवाहरुले गत साता तालचोकमा तिवारीमाथि कुटपिट गरेका थिए । झडपका बेला दुइ पक्षलाई छुट्याएका रामजी बादललाई त्यहि आधारमा रिसईबी साँधेर हत्या गरेको आफन्तको भनाई छ ।
