
काठमाडौँ । म्यानमारलाई केन्द्रबिन्दु बनाएर शुक्रबार (आज) मध्याह्न गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको छ। सैन्य सरकारका अनुसार, भूकम्पका कारण कम्तीमा १४४ जनाको मृत्यु भएको छ भने ७३० भन्दा बढी व्यक्ति घाइते भएका छन्।
म्यानमारको मण्डले नजिकै केन्द्रबिन्दु रहेको यो भूकम्पले पुरानो शाही दरबारको केही भाग, महामुनी प्यागोडा र अन्य संरचनामा क्षति पुर्याएको छ। सगाइङ क्षेत्रमा ९० वर्ष पुरानो अवा पुल भत्किएको छ। राजधानीमा अस्पतालहरू प्रभावित भएका छन्। घाइतेहरूको संख्या अझै बढ्न सक्ने अनुमान छ। सञ्चार र विद्युत् अवरुद्ध भएका क्षेत्रबाट थप जानकारी आउन बाँकी छ।
थाइल्याण्डको बैंककमा चाटुचाक पार्क नजिकै निर्माणाधीन ३० तले भवन भत्किँदा कम्तीमा ३ जनाको मृत्यु भएको छ। रक्षा मन्त्री फुमथम वेचायचाइले ९० जना हराइरहेको बताए। उद्धार टोलीले ७ जनालाई जीवितै निकालेको छ। थाइल्याण्डकी प्रधानमन्त्री पेटोङ्टार्न शिनावात्राले बैंककलाई आपतकालीन क्षेत्र घोषणा गरी राहत कार्य तीव्र बनाएकी छन्।
बैंककमा मेट्रो र रेल सेवा बन्द गरिएको छ। स्टक एक्सचेन्जको कारोबार पनि स्थगित भएको छ। भूकम्पको कम्पन चीनको युनान प्रान्त, भियतनाम र भारतको उत्तरपूर्वी क्षेत्रमा पनि अनुभव गरिएको छ।
