आजदेखि हेमजामा आलु महोत्सव, पोखरा महानगरका प्रमुख आचार्यले गरे उद्घाटन

Share:

पोखरा। आजदेखि १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु भएको छ। महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन्। ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको आयोजक विष्णुपादुका क्लबका अध्यक्ष समेत रहेका मूल आयोजक समितिका संयोजक वसन्तकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार महोत्सव आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको वृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा परीक्षण तथा रोगको निदान रहेका छन्।

त्यस्तै कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरुका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, बीउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि रहेको उनको भनाइ छ।

महोत्सवको महानगर प्रमुख आचार्यले उद्घाटन गर्दै खाने आलुमामात्र सिमित नभइ व्यवसायिक आलु खेतीतर्फ उन्मुख हुनुपर्ने बताए। अर्को वर्ष अझ व्यवस्थित तरिकाले आलु खेती गर्नुपर्ने भन्दै उनले यसका लागि महानगरले सहयोग गर्ने प्रतिपद्धता जनाए।

उनले महानगरका प्रत्येक वडामा एउटा पकेट क्षेत्र विकास गर्ने योजना रहेको पनि जनाए। ‘आलु खेतीमार्फत पनि अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन सकिन्छ भन्ने कुराको उदाहरण क्लबको कामले देखाएको छ,’ मेयर आचार्यले भने, ‘पोखरामा तरबुजा खेती सफल भएको छ, आलुमा पनि सम्भावना छ।’

उद्घाटन कार्यक्रममा पोखरा महानगरपालिका-२५ का वडाध्यक्ष मोती तिमिल्सिनाले आलु महोत्सवले पोखराकै पहिचान बोकेको बताए। महोत्सवले आलुलाई मात्र नभइ स्थानीय संस्कृती, बाजालाई पनि उजागर गर्ने प्रयास गरेको उनको भनाई थियो।

यसअघि स्थानीयले आलुको माला लगाएर, अन्य तरकारी बोकेर बाजागाजा सहित सडकमा नाचगान गरेका थिए । चौरको बिच भागमा बनाइएको आलुको पहाड महोत्सवको मुख्य आकर्षण बनेको छ। हेमजाको कुल १३ हजार ५ सय हेक्टर क्षेत्रफल मध्ये ५ सय ५० हेक्टरमा आलु खेती गरिन्छ। त्यहाँका २ हजार घरपरिवार कृषिमा आधारित रहेकोमा १ हजार ५० कृषकले व्यवसायिक आलु खेती गर्दै आएका छन्।

आलु महोत्सव सुरु भएदेखि आलु बजारसम्म लाने झन्झटबाट मुक्त भएको र उत्पादित आलु महोत्सवबाटै बिक्री वितरण हुने गरेको विष्णुपादुका क्लबका उपाध्यक्ष राजेन्द्रबहादुर थापाले बताए। महोत्सव प्रवेशका लागि ८० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ शुल्क राखिएको छ। वैशाख ३ गतेसम्म हुने महोत्सवमा प्रतिकेजी ४२ रुपैयाँमा आलु बिक्री हुनेछ।

हेमजामा उत्पादन भएका आलु तथा अन्य ताजा तरकारीका वृहत प्रदर्शन एवम् प्रचारप्रसार गर्ने, हेमजालाई व्यवसायिक कृषि पर्यटन क्षेत्रका रुपमा देश विदेशमा चिनाउने, क्लब भवन निर्माणका साथै तरकारी संकलन तथा बिक्री वितरण केन्द्र निर्माण गर्ने एवम् विष्णुपादुका बहुउद्देश्यीय भवन निर्माणलाई पूर्णता दिने उद्देश्यका साथ महोत्सवको आयोजना गरिएको हो।

कमेन्ट गर्नुहोस्
Share: