पोखरामा प्रदूषणले उकुसमुकुस, एक्यूआई १५० भन्दामाथि, उडान ठप्प, जनजीवन प्रभावित

Share:

पोखरा । दैनिक ३२ उडान हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार एउटा पनि उडान भएन। आइतबार मुस्किलले आधाआधी उडान भयो । यसबाहेक सामान्य समयमा पुरानो विमानस्थलमा १० वटा नियमित उडान हुन्छ भने दर्जनौँ पटक हेलिकोप्टर उडान हुन्छ।

मंगलबारको सेड्युल पनि ठप्प छ । छेन्दुबाट पोखरामा हुने सिचुआन एयरलाइन्सको चार्टर उडान बुधबारका लागि सरेको छ। बुधबार पनि उडान हुने ग्यारेन्टी छैन। मौसम खराबीका कारण विमानस्थलको तालिका बिग्रिएको हो । केही दिनयता पोखराको वायुमण्डल धुम्मिएको छ। जसका कारण विमान उडाउन चाहिने भिजिबिलिटी छैन।

‘मौसम खराब छ । भिजिबिलिटी नै छैन, ’ विमानस्थलका प्रबन्धक योगेन्द्र कुँवरले भने, `आज पनि फ्लाइट सेड्युल ठप्प छ।’ आजभोलि बिहानको फ्लाइट लगभग स्थगित भएका छन्। जसले गर्दा यात्रुहरू दिनभरि विमानस्थल कुरेर फर्किन बाध्य छन्। पोखरामा विमान सुरक्षित उडानका लागि २७ सय र अवतरणका लागि सामान्यतः ३ हजार मिटर भन्दा बढी भिजिबिलिटी आवश्यक पर्छ । तर, हाल दिनभर बाक्लो तुवाँलोले गर्दा भिजिबिलिटी २ हजार भन्दा कम हुन थालेको छ।

विमानस्थलका अनुसार कहिलेकाहीँ १ किलोमिटर भन्दा पनि कम हुन्छ। ‘उडान नहुनुको एक मात्र कारण भिजिबिलिटी हो। केही दिनयता पोखराको भिजिबिलिटी हजार-बाह्र सय मिटर छ, ’ उनले भने, ‘ यति कम भिजिबिलिटीमा उडाउन सकिँदैन।’ उनका अनुसार केही दिन यता पोखराको आकाशमा धुवाँ र धुलोको मात्रा अत्यधिक देखिएको छ।

अहिले पोखराको वायु गुणस्तर सूचकाङ्क रेड जोनमा पुगेको छ। मंगलबार बिहानैदेखि एक्यूआई १५० भन्दा माथि छ। पोखराका अस्पतालहरूमा आँखा र श्वासप्रश्वासका बिरामी बढेका छन् भने अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन चिकित्सकहरूले सुझाएका छन्।

कमेन्ट गर्नुहोस्
Share: