
रञ्जन अधिकारी पोखरा, ९ भदौ / कास्कीका गाउँ विकास समिति कार्यालयहरुले आर्थिक वर्ष २०७१÷७२ मा कार्यालयबाट सञ्चालित विकास निर्माणका सम्पूर्ण कार्यको वार्षिक प्रगति समिक्षा गरिएको छ । जिल्ला विकास समिति, कास्कीको सभाहलमा बुधबार आयोजित समिक्षा गोष्ठीमा कास्कीका ३२ वटा गाविसका सचिवहरुले आफ्ना कार्यालयबाट भएगरेका कामकारबाहीबारे जानकारी गराए ।
स्थानीय विकास अधिकारी तारानाथ अधिकारीले कामकारबाही चुस्त बनाउन सुझाव दिँदै आफ्नो दायित्वबाट नपन्छन सुझाव दिए । उनले सेवाग्राहीलाई सन्तुष्ट हुने गरी काम गर्न पनि आग्रह गरे । गाविस सचिवहरुले गत आर्थिक वर्षमा सम्पन्न भएका सम्पूर्ण आयोजनाहरु, कार्यालयबाट भएका गतिविधि, स्थानीयको सुझावहरु स्थानीय विकास अधिकारी, प्रमुख जिल्ला ईञ्जिनियर, राजनैतिक दलका प्रतिनिधि समक्ष प्रस्तुत गरे ।
सो अवसरमा गाविस सचिवहरुले जिविसले संचालन गरेका योजनामा गाविस प्रतिनिधि पनि राख्न आवश्यक भएको भन्दै ध्यानाकर्षण गराएका थिए । उनीहरुले विकास निर्माणका कार्यमा समेत गाउँमा जनश्रमदान जुट्न निकै गाह्रो हुने गरेको गुनासो गर्दै पेश्की नभई काम गर्न नसकिने स्पष्ट पारे । केहिले गाविस कार्यालय भवन समेत नभएकोले तत्काल पुननिर्माण गर्नुपर्ने सुझाव दिए । जनसंख्याको आधारमा विकास बजेट छुट्याउन, सानो भन्दा पनि ठूलो योजनामा ध्यान दिन जिविसको ध्यानाकर्षण गराए । सहभागीहरुले गाविस सचिवले मनोमानी ढंगले भूकम्पपीडित परिचयपत्र प्रदान गरेको लगायतका विषयमा सम्बन्धित सचिवहरुसँग स्पष्टिकरण मागेका थिए ।
सोहि अवसरमा कास्कीका ३२ गाविस कार्यालयका सचिवहरु र स्थानीय विकास अधिकारी तारानाथ अधिकारी कार्यसम्पादन सम्झौता भएको छ । गाविसको भूमिकालाई अझ बढि सक्षम, सृदृढ, सेवामुलक र उत्तरदायी बनाई स्थानीय निकायहरुको परिणाममुखी व्यवस्थापन र संचालन गर्न एवं समग्र सेवा प्रवाहलाई सुधार गर्न सम्झौता भएको हो । सम्झौतापत्रमा कूल सुचक संख्या ३३ छ । विशेष गरी व्यक्तिगत घटनाहरु जन्म, मृत्यु, विवाह, बसाईंसराईं लगायतको दर्ता गर्ने र मासिक प्रतिवेदन जिविसमा पठाउने, गाविसको लेखा परीक्षण गर्ने, बेरुजु फछ्र्यौैट गर्ने, गाविस स्तरीय अनुगमन तथा सुपरीवेक्षण समिति गठन गरी नियमित अनुगमन गर्ने, गाउँ परिषद् गर्ने, एकीकृत योजना तर्जुमा समिति बैठक गर्ने रहेको छन् । यस्तै, सार्वजनिक सुनुवाई तथा सामाजिक परीक्षण गर्ने, आर्थिक वर्ष सकिएको पहिलो चौमासिक भित्र वार्षिक समिक्षा गर्ने, गाविसका क्रियाकलाप संचारमाध्यममा प्रकाशन प्रसारण गर्ने, कार्यालयमा नागरिक बडापत्र राख्ने, अद्यावधिक गर्ने लगायतका सुचक छन् । कार्यसमपादन मूल्यांकन अंक पनि तोकिएको छ । ३१ देखि माथिलाई उत्कृष्ट मानिनेछ ।
विहीबार कास्कीमा रहेका विषयगत कार्यालयहरुले गत आर्थिक वर्षमा गरेका कामकारबाहीबारे जानकारी गराउनेछन् । जिल्ला विकास समितिको कार्यालय लगायत जिल्लाका विकाससँग सम्बन्धित सरकारी कार्यालयहरु, संस्थान, गैरसकारी संघसंस्थाको प्रगति प्रतिवेदन पेश हुनेछ । आर्थिक विकास समिति, भौतिक पूर्वाधार विकास समिति, कृषिसँग सम्बन्धित कार्यालय, सामाजिक विकास समिति, बन तथा वातावरण समिति अन्तर्गतका कार्यालय लगायतले वर्षभरी गरेका कामकारबाही बारे जानकारी गराउने कार्यक्रम रहेको छ । समिक्षा गोष्ठीमा सम्बन्धित कार्यालय, संघसंस्थाबाट प्रस्तुत प्रतिवेदन माथि सहभागीहरुबाट आएका टिप्पणी, जिज्ञासाको जवाफ सम्बन्धित संघसंस्थाका प्रमुख एवं प्रतिनिधिले दिनेछन् ।
