
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका कार्यकाल सकिएको छ। २०७६ साल वैशाख ६ गते प्रमुख निर्वाचन आयुक्तमा नियुक्त भएका थपलियाको शुक्रबारदेखि कार्यकाल सकिएको छ। उनलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरेकी थिइन्।
थपलियाको कार्यकाल सकिएसँगै निर्वाचन आयोगमा प्रमुख आयुक्त र १ आयुक्त पद रिक्त हुन पुगेको हो। निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले २०७९ फागुन ४ गते ६ वर्षे कार्यकाल सकेर बिदा भएपछि उक्त पद समेत रिक्त छ। थपलिया पनि ६ वर्षे कार्यकाल पूरा भएर बिदा भएका छन्।
निर्वाचन आयोगमा रामप्रसाद भण्डारी, जानकी तुलाधर र सगुन शम्शेर जबरा आयुक्त रहेका छन्। वरिष्ठताका आधारमा अर्को व्यवस्था नभएसम्मका लागि भण्डारीले नै कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी पाउने देखिन्छ।
निर्वाचनदेखि समावेशी आयोगसम्म प्रमुखविहीन
यता राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले पनि अवकाश पाएका छन्। उनले अवकाश पाएपछि जुद्ध गुरुङले निमित्तकाे रुपमा कार्यालय चलाइरहेका छन् ।
अहिले निर्वाचन आयोग, राष्ट्रिय समावेशी आयोग, मुस्लिम आयोगलगायत प्रमुखविहीन बनेको छ। राष्ट्रिय समावेशी आयोगका अध्यक्ष रामकृष्ण तिमल्सिनाले ६५ वर्षे उमेर हदका कारण अवकाश पाएपछि उक्त पद लामो समयदेखि रिक्त छ। राष्ट्रिय मुस्लिम आयोगका अध्यक्षले अवकाश पाएपछि कार्यवाहकबाट उक्त आयोग चलिरहेको छ। उक्त सूचीमा अब निर्वाचन आयोग पनि थपिएको हो। अन्य आयोगका सदस्यहरू पनि रिक्त रहेका छन्।
