वित्तीय सुशासन जोखिम मूल्यांकनमा ६८ प्रतिशत अंक ल्याउँदै कास्कीकै पहिलो बन्यो रुपा

Share:

पोखरा । वित्तीय सुशासन जोखिम मुल्यांकनमा कास्कीका ५ स्थानीय तहमध्ये रुपा गाउँपालिका पहिलो बनेको छ। जिल्ला समन्वय समिति कास्कीले कास्कीका पालिकाहरूको आर्थिक वर्ष २०८०/८१ को वित्तीय सुशासन जोखिम मूल्यांकनको नतिजा सार्वजनिक गरेको हो।

जिसस कास्कीले मंगलबार विशेष कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरेको नतिजाअनुसार कूल सय अंकभारमा रूपा गाउँपालिकाले ६८ प्रतिशत प्राप्त गर्दै प्रथम भएको छ।

यस्तै, अन्नपूर्ण गाउँपालिकाले ६६.५ प्रतिशत, मादी गाउँपालिकाले ६१.५ प्रतिशत, पोखरा महानगर पालिकाले ४७.५ र माछापुच्छ्रे गाउँपालिकाले ४५ प्रतिशत प्राप्त गको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले नतिजा सार्वजनिक गरे लगत्तै कास्कीका पालिकाहरूको वित्तीय सुशासनको अवस्था अपेक्षाकृत सुधार हुन नसकेको उल्लेख गरे।

प्रमुख पौडेलले ४० प्रतिशतभन्दा तल उच्च जोखिम ,४० प्रतिशत बाट ८० प्रतिशतसम्म मध्यम जोखिम र ८० भन्दा माथि अंक प्राप्त गर्ने पालिका न्यून जोखिममा रहेको भन्दै आगामी वर्षका नतिजामा सुधार गर्ने गरेर आफ्ना कार्य सम्पादन गर्न पालिकाहरू थप गम्भीरतापूर्वक लाग्नुपर्ने बताए।

वित्तीय सुशासनको विषय पालिकाहरूले उच्च प्राथमिकतामा राख्नुपर्ने भन्दै पौडेलले पालिकाहरूमा शाखागत समन्वय थप मजबुत बनाउनु जरुरी भएको उल्लेख गरे।

उन्नत खालको सुशासन उत्कृष्ट वित्तीय सुशासन बिना असम्भव रहेको पौडेलको भनाइ थियो।

प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत जिसस कास्कीका उपप्रमुख सरिता माल र सञ्चालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए।

कार्यक्रममा गाउँपालिकाका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत, कर्मचारी, सञ्चारकर्मी र सरोकारवालाहरूको उपस्थिति थियो ।

कमेन्ट गर्नुहोस्
Share: