राष्ट्र बैंकको १८औं गभर्नर बने डा. विश्व पौडेल, को हुन् उनी ?

Share:

नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा डा.विश्व पौडेल नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नरमा नियुक्त गरेको हो।

गभर्नर सिफारिस समितिले पौडेलसँगै राष्ट्र बैंककी कामु गभर्नर नीलम ढुङ्गाना र पूर्वसचिव दिनेश भट्टराईलाई सिफारिस गरेको थियो।

मन्त्रिपरिषद् बैठकले सिफारिसको एक नम्बरमा रहेका  पौडेललाई गभर्नरमा नियुक्त गरेको हो।

को हुन् पौडेल ?

नवनियुक्त गभर्नर पौडेल यसअघि गभर्नर सिफारिस समितिमा विज्ञको तर्फबाट सदस्य बनेका थिए। उनले गभर्नर पाउने सम्भावना देखिएपछि सदस्यबाट राजीनामा दिएर गभर्नरका लागि दौडधूप शुरु गरेका थिए।

पौडेल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका विश्वास पात्रका रूपमा लिने गरिन्छ। पौडेल २०७८ साल साउन १२ गते राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका थिए। जुनबेला प्रधानमन्त्रीमा देउवा नै रहेका थिए। अहिले पौडेललाई गभर्नर बनाउँदा समेत कांग्रेस सरकारमै रहेको छ ।

नवनियुक्त पौडेलको घर चितवन हो। उनले चीनको विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातक तहको अध्ययन गरेका छन्। उनले युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्।

 

कमेन्ट गर्नुहोस्
Share: