प्रदर्शनी केन्द्रमा महिला उद्यमी मेला सुरु

Share:

रञ्जन अधिकारी पोखरा, १७ भदौ। पोखरा उद्योग वाणिज्य सङ्घ, महिला उद्यमी विकास समितिको आयोजनामा महिला उद्यमी मेला – २०७२ विहीबारदेखि सुरु भएको छ । आर्थिक सम्वृद्विका लागि उद्यमशीलता भन्ने मूल नाराका साथ पोखरा प्रदर्शनी केन्द्रमा आयोजित मेला भदौ २० गते सम्म सञ्चालन हुनेछ ।

मेलाको एक समारोहबीच मध्यमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष अरुणराज सुमार्गीले उद्घाटन गरे । उनले अब ओभीओपी÷ओडीओपी अभियान अर्थात् एक गाउँ एक उत्पादन, एक जिल्ला एक उत्पादन अभियानलाई अझै सुक्ष्मीकरण गर्नुपर्ने बताए । ‘ह्याण्डीक्राफ्टको मात्रै पनि उत्पादनलाई प्रर्वद्धन गर्नुपर्छ’ उनले भने– ‘महिलाको सीपलाई कसरी राष्ट्रिय अर्थतन्त्रमा सदुपयोग गर्न सकिन्छ भन्नेबारे सोच्न जरुरी छ ।’

सुमार्गीले घरघरका महिलाको उर्जालाई व्यवसायिकतामा रुपान्तरण गर्न सके महिला र उनको परिवारमात्र होईन समाज, राष्ट्र नै विकास हुने बताए । सुन्दर शहर पोखरामा बस्ने सबै पोखरेलीको एकता र यहाँको मौलिकताले पोखराले चाँडै नै विकासको फड्को मार्ने उनले उल्लेख गरे ।

तराई मधेशमा चर्किएको आन्दोलनले २३ दिनसम्म बन्द हुँदा यहाँको उत्पादन निर्यात तथा आवश्यकीय वस्तु आयात गर्न कठिन भएकाले राष्ट्रिय अर्थतन्त्रमा अरबौं घाटा भएको उनले बताए । यसले व्यवसाय सञ्चालनमा अफ्ठेरो अवस्था देखापरिसकेकाले सरोकारवाला गम्भीर बन्न आग्रह गरे ।

उद्घाटन कार्यक्रमको अध्यक्षता समेत गरेका पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले मेलाले महिला उद्यमशीलताको विकास गर्ने र पर्यटन विकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले पोखरा सुरक्षित रहेको र जनजीवन सामान्य बनेको सन्देश दिन मेला सफल हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा स्वागत गर्दै महिला उद्यमी विकास समिति सभापति बिन्दु कोईराला सुवेदीले महिलाहरुद्वारा उत्पादित बस्तु तथा सेवाको बजारिकरणमा सघाउने, महिलामा निहित सिपको उजागर गर्ने र महिलाहरुलाई प्रतिस्पर्धी बनाउने मुख्य उदेश्यले मेला आयोजना गरिएको बताईन् ।

सो अवसरमा संघका सल्लाहकार सुरेशकुमार राजभण्डारी, पश्चिमाञ्चल अटोमोबाईल डिलर्स एशोसियसनका अध्यक्ष माधव पौडेल, पोखरा नगर महिला समन्वय समिति अध्यक्ष पवित्रा गुरुङ, सञ्चारिका समूह पश्चिमाञ्चलकी अध्यक्ष जमुना वर्षा शर्मा लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन लक्ष्मी पाण्डेले गरेकी थिईन् ।

मेलामा हस्तकला सामान, घरायसी सामान, सौन्दर्यका सामान, दैनिक उपभोग्य बस्तुका गरी ८० वटा स्टल रहने छन्। मेलामा महिला समुहवीच तीजे र दोहोरी गित प्रतियोगिता, राष्ट्रिय कलाकारहरुको प्रस्तुती आकर्षणका रुपमा रहने छन्। मेलाबाट बचत रकम महिला उद्यमशीलता र सिप विकासका लागि खर्च गरिने बताइएको छ। एक लाख दर्शकले मेला अवलोकन गर्ने अनुमान गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: