
पोखरा । पोखरा महानगरपालिकाको वडा नं. २६ ले शनिबार छलफल कार्यक्रमको आयोजना गरी दुई वर्षका लागि वडा विकास सम्भावनाका आधारहरु खोजेको छ। विभिन्न क्षेत्रका प्रतिनिधिहरुलाई भेलामा वडाले आगामी बजेटमा समावेश गर्ने गरी नीति, योजना र विकास सम्भावनाको आधारहरु खोजेको हो।
तीन वर्षसम्म भौतिक पूर्वाधारमा बजेट केन्द्रित गरेको वडाले अबका दुई वर्ष शिक्षा, स्वास्थ्य र रोजगार प्रवद्र्धन हुने योजनालाई प्राथमिकीकरण गर्न छलफल आयोजना गरेको वडा अध्यक्ष नरेन्द्र थापाले बताए।
कार्यक्रममा पूर्व कानुनमन्त्री यज्ञबहादुर थापाले वडा नं. २६ मा जनताले महसुस गर्ने गरी विकास भएको उल्लेख गर्दै, रोजगारी सिर्जना गर्ने र युवा पलायन रोक्ने कार्यक्रमहरु समावेश गर्न सुझाव दिए।
पूर्वमन्त्री थापाले सरकारका मन्त्रालय, विभाग र विभिन्न निकायमा कार्यरत कर्मचारीहरुले पनि आफु बसोबास गरेको वडा र भूगोलको विकासका लागि योगदान दिन आग्रह गरे। सर्वोच्च अदालतका पूर्व न्यायाधिस डा. आनन्द मोहन भट्टराईले विकास निर्माणसँगै पर्यावरणीय सन्तुलनलाई ध्यान दिन जोड दिए।
उनले संविधानले नै तीन तहको सरकारको परिकल्पना गरेको उल्लेख गर्दै, संघीय र प्रदेश सरकार सधैँ जोखिममा रहने तर स्थानीय सरकार कहिल्यै भंग नहुने स्पष्ट पारे। उनले प्रकृतिका उपहारलाई प्रवद्र्धन गरेर पर्यटन विकासमा जोड दिने गरी खाका तयार गर्न आग्रह गरे।
पूर्वन्यायाधिस भट्टराईले पहाडी क्षेत्रका बाँझो जमिनलाई उपयोग गर्ने नीति ल्याउन र बाँदर नियन्त्रणमा जोड दिन आग्रह गरे। यसैगरी गण्डकी प्रदेश सरकारका सचिव बद्री अधिकारीले भौतिक निर्माणले मात्र विकासको मापन नहुने उल्लेख गर्दै, उत्पादनलाई जोड्ने खालका कार्यक्रम समावेश गर्न सुझाव दिए।
प्रादेशीक स्वास्थ्य तालिम केन्द्रका प्रमुख डा. विनोद विन्दु शर्माले गण्डकी आर्यूवेद अस्पतालको स्तरोन्नतीसँगै वडा नंं २६ मा संघीय सरकारले एक सय शैयाको अस्पताल निर्माणका लागि योजना अगाडी बढाएको जानकारी दिए।
सशस्त्र प्रहरी बलका प्रहरी उपरिक्षक सुर्यप्रसाद तिमिल्सेनाले सरसफाईका काममा सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे। उनले सशस्त्र प्रहरी बलले शिक्षालय सञ्चालनका लागि जग्गा खोजिरहेको उल्लेख गर्दै, न्यून विद्यार्थी भएका भवनलाई प्रयोग गर्न दिन आग्रह गरे।
गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका उपसचिव प्रकाशचन्द्र ढुंगानाले जेष्ठ नागरिक र महिला लक्षित कार्यक्रममा समन्वय गर्न सकिने बताए। लायन्स क्लव अफ इन्टरनेशनल ३२५ आई का गर्भनर विनोद ढुंगानाले वडा नंं २६ को लक्ष्मी माविमा सहकार्यमा पुस्तकालय निर्माणको काम अगाडि बडेको उल्लेख गर्दै, अन्य योजनामा समेत सहकार्य गर्न सकिने समेत बताए।
वडा अध्यक्ष नरेन्द्र थापाले आफ्नो कार्यकालको तेस्रो वर्ष चलिरहँदा झण्डै ७५ करोड रुपैयाँ विकास निर्माणका लागि खर्च भएको तथ्यांक प्रस्तुत गरे। उनले जो जहाँ जुन निकायमा छ त्यहीबाट वडा विकासका लागि सहयोग गर्न आग्रह गरे। अध्यक्ष थापाले कार्यक्रममा प्राप्त विचारलाई पूँजीको रुपमा लिएको उल्लेख गर्दै, त्यसलाई आधार बनाएर आगामी वर्षको नीति तथा कार्यक्रम तय गरिने बताए। उनले आगामी वर्षको बजेटलाई शिक्षा, स्वास्थ्य र रोजगारी प्रवद्र्धनमा टेवा पुग्नेगरी विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरे।
अध्यक्ष थापाले विगतमा गरेका सार्वजनिक सुनुवाई, योजना तर्जुमा, वडा अनुगमनका सवै कार्यक्रम पृथक भएको उल्लेख गर्दै, यस कार्यक्रमले थप कर्तव्य बोध भएको स्पष्ट पारे। कार्यक्रममा व्यवसायी चन्द्रकृष्ण कर्माचार्यले राजमार्गको पुर्ननिर्माणसँगै बजारका स्वरुपमा परिवर्तन आएको उल्लेख गर्दै, अझै पनि केही स्थानमा टाउन प्लानिङ गर्न सकिनेमा जोड दिए। अर्का व्यवसायी बाबुराम गिरीले राजमार्गबाट विस्ताथपित भएका बजारलाई भित्री सडक व्यवस्थित गरी स्थानान्तरणको योजना ल्याउन आग्रह गरे। उनले वडा विकासका लागि तीन तहका सरकारविच समन्वय हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा गण्डकी प्रदेश नीति तथा योजना आयोगमा कार्यरत सन्तोष ढुंगाना, निर्वतमान वडाध्यक्ष नारायण प्रसाद बराल, शिक्षाविद् रविप्रसाद बराल, तारा शर्मा पूर्व उपसचिव रामजी बराल, व्यवसायी छत्रधर आत्रेय, डा. ग्रिष्ममोहन भट्टराई, लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्मा, डा. उदय ढुंगाना, बैकुण्ठ बराल, सुदिप अधिकारी, नारायण लामिछाने, सञ्चारकर्मी भिमपाणी बराल, इन्जिनियर सन्दिप पौडेल लगायतले दिगो विकासका लागि सुझाव दिएका थिए। कार्यक्रममा सुचना अधिकारी नवराज सापकोटाले सहजीकरण गरेका थिए।
