
गण्डकी । गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ र सेल्फ ड्राइभ’ सेवा कानुनी रूपमा स्वीकृत गर्ने नियमन तथा व्यवस्थापनसम्बन्धी नियमावली खारेज गर्न माग गर्दै सवारी व्यवसायीहरूले आज सार्वजनिक यातायात सेवा बन्द गरेका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा गण्डकी प्रदेशका सवारी व्यवसायीहरू नियमावलीको विरोधमा आन्दोलनमा उत्रिएका हुन्। आजबाट सुरु गरिएको सार्वजनिक सवारीसाधन बन्दका कारण सर्वसाधारणको आवतजावतमा ठूलो कठिनाइ भएको छ। विशेष गरी टाढा जानुपर्ने यात्रुहरू समस्यामा परेका छन्।
पूर्ण रूपमा सेवा ठप्प
पोखरा ट्याक्सी प्रालिका अध्यक्ष शोभाकान्त पौडेलले बिहानैदेखि गण्डकी प्रदेशभर ट्याक्सी, बस तथा ढुवानी सेवाहरू पूर्ण रूपमा बन्द गरिएको जानकारी दिए।
उनका अनुसार, आजदेखि गण्डकी प्रदेशमा सवारी सेवा अवरुद्ध गरिएको छ भने जेठ १९ गतेदेखि देशव्यापी सवारी अवरोध गर्ने कार्यक्रम तय गरिएको छ।
सार्वजनिक यातायात बन्द हुँदा विद्यालय, अस्पताल तथा कार्यालय जाने यात्रुहरू मारमा परेका छन्। आकस्मिक सेवामा समेत असर पर्ने स्थिति देखिएको छ।
सवारी व्यवसायीहरूले नियमावलीले व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा र अस्तव्यस्तता ल्याउने भन्दै खारेजको माग गर्दै आन्दोलन चर्काएका हुन्।
