
पोखरा। पोखरा महानगरपालिका-२७, तालचोकस्थित त्रिवेणी इन्टरनेशनल कलेजका पूर्वविद्यार्थीहरूको साझा संस्था त्रिवेणी इन्टरनेशनल कलेज एलुम्नाई एशोसिएसनको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट असिम पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरिएको हो।
नयाँ कार्यसमितिमा उपाध्यक्षमा सर्वेन्द्र न्यौपाने, सचिवमा सृजना अधिकारी, सहसचिवमा सुजन आचार्य, र कोषाध्यक्षमा पबिन गौतम निर्वाचित भएका छन्। त्यस्तै, सदस्यहरूमा सचिन रानाभाट, बलराम, सृष्टि तिवारी, सलिना घिमिरे र सिम्रन रेग्मी चयन भएका छन्।
अधिवेशन सम्पन्न गर्न मुक्तिनाथ सापकोटाको संयोजकत्वमा शिव चन्द्र घिमिरे र किशोर सुवेदी सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो। कार्यक्रमको उद्घाटन त्रिवेणी इन्टरनेशनल कलेजका सञ्चालक समिति अध्यक्ष सुमन भट्टराईले गरेका थिए ।
उनले अध्ययनपछि विद्यार्थीहरूले प्राप्त गरेको सफलताले कलेजको भविष्य उज्ज्वल बनाउने बताए। निजी क्षेत्रबाट सञ्चालित भए पनि न्यूनतम शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको कलेजका विद्यार्थीहरूले बजारमा छुट्टै पहिचान बनाउन सफल भएको उनको भनाइ थियो।
त्यस्तै, कलेजका पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वसदस्य बाबुराम गिरीले पूर्वविद्यार्थी मञ्चलाई कलेजको एक महत्वपूर्ण खम्बाको रूपमा व्याख्या गर्दै यसले शैक्षिक योगदानमा उल्लेखनीय भूमिका खेल्ने बताए।
कार्यक्रममा क्याम्पस प्रमुख यदुराज आचार्य, सञ्चारकर्मी नवराज सापकोटा, विद्यार्थी कल्याणकारी समितिका अध्यक्ष सुदिन भट्टराईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
अध्यक्ष रामकृष्ण लामिछानेले अध्यक्षीय प्रतिवेदन तथा कोषाध्यक्ष सृजना अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालन नवनिर्वाचित सचिव असिम पाण्डेले गरेका थिए।
