बाराही ढल्यो, अमरसिंह छात्र र छात्रा दुवैमा च्याम्पियन

Share:

पोखरा । पोखरा क्रिकेट एकेडेमीको आयोजनामा तथा किडासाको मुख्य सहयोगमा सम्पन्न पाँचौं संस्करणको ’ब्रेकिङ्ग बाउण्ड्रिज’ अन्तरविद्यालय छात्र/छात्रा टी-२० क्रिकेट प्रतियोगितामा अमरसिंह माध्यमिक विद्यालयले छात्र र छात्रा दुवै तर्फको उपाधि जित्दै दोहोरो सफलता हासिल गरेको छ।

पोखरा रंगशालामा सम्पन्न छात्रतर्फको फाइनल खेलमा अमरसिंहले बाराही माविलाई २ विकेटले पराजित गर्‍यो। टस जितेर पहिले ब्याटिङ गरेको बाराहीले निर्धारित १८ ओभरमा सबै विकेट गुमाउँदै १०२ रन बनायो। बाराहीका लागि सबिन विकले २१ (१८ बल), र आयुष सुनारले १३ रन बनाए। अमरसिंहका बलर स्मित कणेलले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए।

१०३ रनको लक्ष्य पछ्याएको अमरसिंहले अन्तिम बलमा चौका प्रहार गर्दै रोमाञ्चक जित निकालेको हो। अमरसिंहका आतिफ मियाले १८ तथा विस्तृत गिरीले १६ रन बनाए। बाराहीका अभिषेक अधिकारी र विवेक विकले समान २ विकेट लिए। ३ विकेट लिएका स्मित कँडेल ’प्लेयर अफ द म्याच’ घोषित भए ।

छात्रातर्फ अमरसिंह माविले बाराही माविलाई ७ विकेटले हराउँदै उपाधि जित्यो। टस जितेर बलिङ रोजेको अमरसिंहले बाराहीलाई १० ओभरमै सबै विकेट गुमाउँदै ३८ रनमै समेट्यो। बाराहीका लागि हिरा मगरले सर्वाधिक ५ रन बनाइन्। अमरसिंहकी सोफिया गुरुङले ६ विकेट लिएर ‘प्लेयर अफ द म्याच’ बन्न सफल भइन्।

अमरसिंहले ५.३ ओभरमै ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। चन्द्रमाया बरालले १२ बलमा १९ रन तथा रक्षा फगामीले ११ रन बनाइन् । बाराहीका बलर सोनिमा मगरले २ विकेट लिएकी थिइन् । छात्रतर्फ सर्वोत्कृष्ट खेलाडी अभिषेक अधिकारी (बाराही) भए भने सर्वोत्कृष्ट बलर अभिषेक अधिकारी यस्तै सर्वोत्कृष्ट ब्याटरमा सम्राट अधिकारी बनेका छन् । छात्रातर्फ सर्वोत्कृष्ट खेलाडी सोनिमा मगर भइन् भने सर्वोत्कृष्ट ब्याटर श्रद्धा गुरुङ तथा सर्वोत्कृष्ट बलरमा सोफिया गुरुङ बनेकी छन् ।

विजेता टोलीले नगद रु १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले रु ५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए । पुरस्कार कास्की जिल्ला खेलकुद विकास समिति अध्यक्ष मिलन गुरुङ, गण्डकी प्रदेश क्रिकेट संघ अध्यक्ष संजयकान्त सिग्देल, पोखरा महानगर क्रिकेट समिति अध्यक्ष वीरेन्द्र पुन, किडासा प्रतिनिधिहरू बसन्तराज पराजुली, रमेश बास्तोला, सविन उदास र अन्य विशिष्ट व्यक्तित्वहरूले वितरण गरे । कार्यक्रमको अध्यक्षता आयोजक समिति अध्यक्ष बबिन कुँवरले गरेका थिए भने सञ्चालन क्रिकेट खेलाडी सन्देश साही ठकुरीले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: