
पोखरा। विश्व वातावरण दिवसको अवसरमा विन्ध्यवासिनी माध्यमिक विद्यालय, बाटुलेचौरका विद्यार्थीहरूले सचेतना र्याली तथा सरसफाई कार्यक्रम आयोजना गरेका छन्।
“Ending Global Plastic Pollution” भन्ने नारासहितका प्लेकार्ड बोकेका विद्यार्थीहरूले विद्यालय प्राङ्गणदेखि पोखराको प्रमुख पर्यटकीय गन्तव्य महेन्द्र गुफासम्म र्याली निकाल्दै सरसफाई गरेका हुन्।
विद्यालयका क्याप्टेन करुणा आचार्यका अनुसार, सो अवसरमा विद्यार्थीहरूले बाटो किनाराका फोहर संकलन गर्नुका साथै स्थानियलाई जथाभावी फोहर नफाल्न आग्रह गरेका थिए।
विद्यार्थीहरूले पर्यावरणीय सन्देश दिँदै फोहरको वर्गीकरण गरी उचित व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याए। जथाभावी फोहर फाल्दा पर्यटकीय क्षेत्र कुरुप देखिनुका साथै मानव स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने उनीहरूको भनाइ थियो।
र्यालीपछि सहभागीहरूले महेन्द्र गुफाको अवलोकन समेत गरेका थिए, जहाँ उनीहरूले गुफा परिसरमा फोहर संकलन गरी व्यवस्थापन गरेका थिए।
