
पोखरा । पोखरा महानगरपालिकाका विभिन्न छ वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई १५ लाख मुल्य बराबरका शैक्षिक सामाग्री वितरण गरिएको छ। समाजका गरिब, विपन्न असहाय वर्गका विद्यार्थीको अध्ययनलाई सहयोग पु¥याउने उदेश्यले ग्लो नेपालले शैक्षिक सामाग्री उपलव्ध गराएको हो। यस आर्थिक वर्षमा विभिन्न विद्यालयका ३०० जना विद्यार्थीलाई झोला, जुत्ता, मोजा, पोशाक कपडा,कापी, कलम लगायतका शैक्षिक सामाग्री वितरण गरिएको ग्लो नेपालका निर्देशक आगमन राज पौडेलले जानकारी दिए।
कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका वडा नं. १७ महतगौडास्थित जानकी माविका ६० जना विद्यार्थीलाई सरकारी सुविधा बाहेकका तीन लाख मुल्य बराबरका शैक्षिक सामाग्री ग्लो नेपाल संस्था सहयोग गरेको हो । पोखरा महानगरपालिका विभिन्न छ वटा वडाका एक एक सामुदायिक विद्यालयमा २०७४ सालदेखि शुरु भएको कार्यक्रम अन्तर्गत यसवर्ष ३०० जना विद्यार्थीलाई वार्षिक १५ लाख मुल्य बराबरको शैक्षिक सामाग्री वितरण गरिएको बताउँदै उनले भने, “संस्थाले समाजका गरिब, विपन्न एवम् एक महिलाका लागि सिलाईकटाई लगायतका आयआर्जनसंग जोडिने कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ।”
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १७ वडाअध्यक्ष शिवराम भण्डारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र गुरुङ, व्यवस्थापन समितिका सदस्य एवम् अग्रज पत्रकार हरि बास्तोला, विद्यालयका प्रधानध्यापक अर्जुन कडेल, शिक्षक तुलसी गिरी, संस्थाका अध्यक्ष आगमनराज पौडेल लगायतले शैक्षिक सामाग्री वितरण गर्दै सदुपयोग गर्न विद्यार्थीलाई आग्रह गरे ।
संस्थाले पोखरा- १५ स्थित सिद्धमावि फलेपाटनका ६४ जना विद्यार्थीलाई पनि शैक्षिक सामाग्री वितरण गरेको विद्यालयका प्रधानाध्यापक गुरुदत्त कोइरालाले जानकारी दिए। विद्यालयमा भएको कार्यक्रममा वडाअध्यक्ष तोरण बहादुर वानियाले विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्दै शैक्षिक गुणस्तर कायम गर्न शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोणात्मक प्रयासको खाँचो औल्याए। कार्यक्रमले शैक्षिक सामाग्रीको अभावमा विद्यालय जानबाट बञ्चित विद्यार्थीलाई पठनपाठनमा महत्वपूर्ण सहयोग पुगेको छ।
