
पोखरा । नेपालमा अवसरको अभावका कारण प्रतिभाशाली जनशक्ति विदेशिने चर्चा भइरहँदा गण्डकी प्रदेशका नागरिकको धारणा पनि उस्तै देखिएको छ। पुरक एसियाले गण्डकीका ९ जिल्लामा गरेको एक सर्वेक्षणले प्रदेशमा रोजगारी, लगानी र उद्यमशीलताको सम्भावना निकै खुम्चिएको देखाएको छ।
गत पुस १२ देखि माघ ११ सम्म कास्की, स्याङ्जा, तनहुँ, गोरखा, लमजुङ, म्याग्दी, पर्वत, बागलुङ र नवलपुरमा १ हजार ६७ जनाबीच गरिएको सर्वेक्षण अनुसार पेशाप्रति सन्तुष्ट हुने ७०.३ प्रतिशत भए पनि देशमा लगानीको अवसर देख्ने भने मात्र ३०.७ प्रतिशत रहेका छन्। लगानीको वातावरण नरहेकामा असहमत हुनेको संख्या ६१ प्रतिशत पुगेको छ, जुन अत्यन्तै निराशाजनक संकेत मानिएको छ।
देशभित्र रोजगारीको स्वरूप, जनसंख्याको बनावट र आर्थिक संरचनामा परिवर्तन आइरहेका बेला अबको अवसर कस्तो हुने भन्ने बहस चर्किएको छ। यद्यपि पछिल्ला वर्षहरूमा संविधान कार्यान्वयन, संघीय संरचना, पूर्वाधार विस्तार र प्रविधिमा केही फड्को मारिएको भए पनि दुईवटा विनाशकारी भूकम्प, भारतको नाकाबन्दी र कोरोना महामारीजस्ता विपत्तिहरूले देशको अर्थतन्त्रमा गम्भीर असर पारेको छ।
सर्वेक्षणले देखाएको छ कि व्यवसाय सुरु गर्न वा विस्तार गर्न धेरै अवरोध छन्। नीति अस्पष्ट छन्, सरकारी प्रक्रिया झन्झटिला छन् र कर्मचारी संयन्त्रबाटै अवरोध सिर्जना हुने गरेका छन्। यसकै परिणामस्वरूप नयाँ लगानीकर्ता हिच्किचाउँछन्, स-सानो पुँजी भएका उद्यमीहरू पछि पर्छन् र स्थापित व्यवसायीहरूको प्रभावले नयाँ उद्यमीहरू दबिन्छन्। व्यवसाय फस्टाउने अवसर छैन भन्ने धारणा ७०.२ प्रतिशत जनतामा पाइिएको छ।
शिक्षित नागरिकले पनि आफ्नो योग्यता अनुसारको रोजगारी पाउन नसकेको गुनासो गरेका छन्। देशमै रोजगारीको अवसर देख्नेको संख्या १८.४ प्रतिशत मात्र रहेको छ भने असहमत हुने ७७.७ प्रतिशत छन्। स्नातक र स्नातकोत्तर तह अध्ययन गरेका व्यक्तिहरू प्रवीणता तहका भन्दा बढी निराश देखिएका छन्, जसले शिक्षा र रोजगारीबीच तालमेलको अभाव स्पष्ट पार्छ।
बजारको माग र शैक्षिक प्रणालीबीचको खाडलले पनि यो समस्या झनै गहिरिएको छ। युवाको विदेश पलायनबारे पनि नागरिकहरू गम्भीर असन्तुष्ट देखिएका छन्। ८७.९ प्रतिशत उत्तरदाताले युवाको विदेश पलायनप्रति चिन्ता व्यक्त गरेका छन् भने ८६.८ प्रतिशतले देशमै पर्याप्त अवसर नपाएकै कारण विदेश जानु परेको बताएका छन्। आफ्नै परिवारको सदस्य विदेश गएका भए पनि त्यसबाट खुसी नहुनेको संख्या झन्डै दोब्बर रहेको पाइयो।
यद्यपि १८-२५ वर्ष उमेर समूह भने केही हदसम्म आशावादी देखिएको छ। उनीहरूले व्यवसाय र रोजगारीको सम्भावना अन्य उमेर समूहको तुलनामा बढी देखे पनि लगानीका सम्भावनामा पुँजी अभाव मुख्य चुनौतीका रूपमा रहेको देखिएको छ।
‘नेपालमा लगानी गर्ने इच्छा र बचत गर्ने क्षमता बढ्दो छ, तर सरकारी संरचना, नीति र वातावरण अनुकूल छैन।’ यही कारणले आर्थिक स्थिरता कायम गर्न कठिन भइरहेको र जनशक्ति, आशा तथा ऊर्जा हुँदाहुँदै पनि अवसरको अभावले आर्थिक वृद्धि अवरुद्ध भएको नागरिकहरूको अनुभूति छ। नीति निर्माण र कार्यान्वयनमा तत्काल सुधार नआए यो अवस्था अझ जटिल हुने चेतावनी पनि सर्वेक्षणले दिएको छ।
