
पोखरा । गण्डकी प्रदेश तेस्रो पुरुष टी-२० क्रिकेट प्रतियोगितामा बुधबार पर्वत र कास्कीले शानदार जित हात पारेका छन्। पोखरा क्रिकेट मैदानमा सम्पन्न खेलमा पर्वतले नवलपुरलाई १५ रनले हराउँदै प्रतियोगितामा महत्त्वपूर्ण जित दर्ता गर्यो भने कास्कीले गोरखालाई १० विकेटले पराजित गर्दै एकतर्फी प्रदर्शन गर्यो।
पर्वतको नवलपुरमाथि सनसनीपूर्ण जित
पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पर्वतले ९ विकेट गुमाउँदै १३१ रन बनायो। अभिषेक थापाले ४० बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ५२ रन बनाए। अभिराज पटेलले २९ बलमा ३७ रन, बिनोद नेपालीले १० बलमा १४ रनको योगदान गरे।
नवलपुरका बलरमध्ये कमल परियार र सुदीप अर्यालले समान २/२ विकेट लिए भने अपराजित पौडेल, दीपक डुम्रे र स्विकार श्रेष्ठले १/१ विकेट हात पारे।
१३२ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको नवलपुर १८।५ ओभरमा ११६ रनमै अलआउट भयो।
गौरव विष्टले २५ रन, स्विकार श्रेष्ठले १८ रन र बिगत पाण्डेले १७ रन बनाए।
पर्वतका कप्तान अमृत गुरुबले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २० रन खर्चिएर ३ विकेट लिए।
राजु थापाले ३।५ ओभरमा ४१ रन खर्चिएर ३ विकेट लिँदा बिनोद नेपालीले २ विकेट हात पारे। अमृत गुरुबलाई उत्कृष्ट कप्तानी र बलिङ प्रदर्शनका लागि प्लेयर अफ द म्याच घोषित गरियो।
कास्कीको गोरखामाथि एकतर्फी दबदबा
दोस्रो खेलमा गोरखाले टस जितेर ब्याटिङ रोज्दा टोली १९.५ ओभरमा ९० रनमै समेटियो। स्वरूप श्रेष्ठले १४ बलमा २१ रन तथा मेहुल श्रेष्ठले ४५ बलमा १८ रन बनाए।
कास्कीका बलरहरू सन्तुलित देखिए जसमा सुबास भण्डारीले ३.५ ओभरमा ११ रन खर्चिएर ३ विकेट तथा सिब्रिन श्रेष्ठले २ विकेट कृष्ण पौडेल र अर्जुन केसीले समान १/१ विकेट लिए।
१ रनप्रति बलभन्दा कमको लक्ष्य पछ्याउँदै कास्कीले ८.४ ओभरमै ९४ रन बनाउँदै जित हात पा¥यो। अनिल गुरुबले २७ बलमा ६ चौका र ३ छक्का सहित अविजित ५१ रन बनाए। अर्जुन कुमालले २५ बलमा ३९ रन जोडे। अनिल गुरुब प्लेयर अफ द म्याच घोषित भए।
समूह बी को स्थिति र आगामी खेलहरू दुई जितसहित कास्की ४ अंकका साथ समूह ‘बी’को शीर्ष स्थानमा छ। पर्वत र नवलपुरले एक/एक जित गर्दै समान २/२ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन्। गोरखा अंकविहीन रहेको छ। प्रतियोगिताका संयोजक ऋषीराम गौतमका अनुसार, भोली (असार ५ गते) हुने खेलबाट समूह ‘बी’ बाट फाइनल प्रवेश गर्ने टोली टुंगो लाग्नेछ।
गण्डकी प्रदेश खेलकुद परिषदको प्रवद्र्धन र प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा भइरहेको प्रतियोगितामा ८ जिल्लाको सहभागिता रहेको संघ अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए। विजेता टिम नगद रु १ लाख, ट्रफी, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद रु ५० हजार, ट्रफी, मेडल, प्रमाणपत्र उत्कृष्ट खेलाडी नगद रु ४ हजार तथा उत्कृष्ट ब्याटर, बलर, उदियमान खेलाडीस् जनही रु २ हजार प्रत्येक खेलको प्लेयर अफ द म्याच नगद रु १ हजार र ट्रफी पाउनेछन्।
