वालिङमा नदी संरक्षण अभियन्ता कुट्ने पक्राउ, एक हप्ता थुनामा, वडाध्यक्ष फरार

Share:

पोखरा । स्याङ्जाको वालिङ नगरपालिका-९ मा आँधीखोला नदी संरक्षण अभियानमा संलग्न व्यक्तिमाथि आक्रमण भएको घटनामा एकजना पक्राउ परेका छन्। मंगलबार वालिङ नगरपालिका-९ मा आयोजित विरोध कार्यक्रम सकेर फर्कने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा संरक्षण अभियन्ता दिनकर नेपाल र अभियन्ता मेघ आलेमाथि आक्रमण भएको थियो।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रशन्नराज चौधरीका अनुसार, आक्रमणमा संलग्न वालिङ नगरपालिका-८ का २९ वर्षीय साजन पंगेनीलाई मिर्दीबाट पक्राउ गरिएको हो। उनलाई ‘ज्यान मार्ने उद्योग’ अन्तर्गत सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ।

पीडित दिनकर नेपालका अनुसार, कार्यक्रम सकिएपछि फर्कंदै गर्दा वडाध्यक्ष सुनील खनाल र अर्का एक व्यक्तिले बाटोमा रोकेर फलामको रडले प्रहार गरेका थिए। नेपालले सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गर्दै आफूहरूमाथि योजनाबद्ध रूपमा आक्रमण गरिएको दाबी गरेका छन्।

नेपालले आँधीखोलाको दोहनबारे सार्वजनिक रूपमा आवाज उठाएपछि कार्यक्रममै वडाध्यक्ष खनालले धम्की दिएको र फर्किने क्रममा फलामको रडले आक्रमण गरेको बताएका छन्। “जनप्रतिनिधिबाटै ज्यानको जोखिम भयो,” नेपालले भने।

यता, वडाध्यक्ष सुनील खनालले भने घटनालाई अतिरञ्जित गरिएको आरोप लगाएका छन्। उनले फेसबुकमार्फत् सार्वजनिक अभिव्यक्तिमा दिनकर नेपाल नेतृत्वको टोलीले निजी स्काभेटर कब्जा गर्न खोजेको, ब्यानर राखेर आफ्नो चरित्र हत्या प्रयास गरिएको बताएका छन्।

उनका अनुसार, आफू होटलमा रहेका बेला नेपालको टोलीले गालीगलौज गर्दै तनाव सिर्जना गरेको र त्यसक्रममा दुवै पक्षबाट सामान्य बल प्रयोग भएको हो। “यो घटना उनीहरूको उत्तेजना र चरित्र हत्या अभियानको परिणाम हो,” खनालले बताएका छन्। उनले बल प्रयोग हुनु अनुचित भए पनि त्यसबेला परिस्थिति जटिल रहेको दाबी गरे।

यसैबीच, वालिङ नगरपालिकाले बुधबार एक विज्ञप्ति जारी गर्दै आँधीखोलाबाट ढुंगा, गिट्टी, बालुवा निकाल्ने कार्य स्वीकृत निकायमार्फत प्रक्रिया पुरा गरेरै गरिएको स्पष्ट पारेको छ। मेयर कृष्ण खाँडको हस्ताक्षर रहेको विज्ञप्तिमा नदीजन्य सामग्री निकाल्ने अनुमति विभिन्न चरणको प्रक्रिया पुरा गरी दिइएको उल्लेख छ। प्रहरीले दुवै पक्षका अभिव्यक्ति र घटनास्थलको विवरणका आधारमा अनुसन्धान अघि बढाएको जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: