पोखराको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सेवाग्राहीको थेगिनसक्नु भीड

Share:

पोखरा । पोखरा महानगरपालिका-८ नयाँ बजारस्थित सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सेवाग्राहीको अत्यधिक भीड लाग्ने गरेको छ। स्वास्थ्य बीमा गरेका अधिकांश बिरामी थप उपचारका लागि ‘रिफर’ लिन आउने भएकाले केन्द्रमा दैनिक चाप बढ्दो छ।

केन्द्रका प्रमुख कुश्मराज सुवेदीका अनुसार पछिल्लो समय अस्पतालले १५ दिनका लागि मात्र औषधि दिन थालेपछि ‘रिफर’ लिन आउनेको संख्या झन् बढेको हो। “उपचारभन्दा पनि रिफर लिन आउने बिरामी धेरै हुँदा केन्द्रमा चाप थेग्न गाह्रो भएको छ,” प्रमुख सुवेदीले भने, “दैनिक दुई सयभन्दा बढी सेवाग्राही आउनुहुन्छ। कुपन लिन बिहान ७ बजेदेखि नै लाइन लाग्न थाल्छ। कुपन बन्द नगरेमा दिनभरमा ३५० भन्दा बढी बिरामी आउँछन्।”

जनशक्ति अपुग, पूर्वाधार कमजोर

उनका अनुसार सेवाग्राहीको चापअनुसार केन्द्रमा ८ जना मेडिकल अधिकृत आवश्यक भए पनि हाल ३ जना मात्र कार्यरत छन्। यो अपुग जनशक्तिले व्यवस्थापनमा समेत समस्या उत्पन्न गरिरहेको छ।
“जनशक्ति थप गरेर दुई सिफ्टमा सेवा दिन सके भीड व्यवस्थापन गर्न सकिन्छ,” सुवेदीले भने, “तर हाल फर्मासिस्ट, कम्प्युटर अपरेटरजस्ता प्राविधिक जनशक्तिको समेत अभाव छ।”

केन्द्रमा १५ जनाको दरबन्दी भए पनि धेरै पद रिक्त छन्। जनस्वास्थ्य अधिकृत, फर्मासिस्ट र कविराजको पदमा अहिलेसम्म पदपूर्ति हुन सकेको छैन।

सेवाको गुणस्तरमा सुधार प्रयास

विसं २०७५ पुसमा स्थापना भएको केन्द्रमा लामो समयदेखि पूर्वाधारको अभाव रहँदै आएको थियो। पुरानो दमकल कार्यालयको भवनबाट सञ्चालन हुँदै आएको केन्द्रमा अहिले आन्तरिक सुधार र सेवा विस्तारका काम गरिएको प्रमुख सुवेदीले बताए। प्रयोगशाला र भान्सा पहिले एउटै कोठाबाट सञ्चालन हुँदै आएकोमा अहिले छुट्टाछुट्टै कोठा बनाइएको छ। केन्द्रले हाल प्रयोगशालाको रिपोर्ट अनलाइनमार्फत घरमै हेर्न सकिने सुविधा पनि उपलब्ध गराएको छ। साथै, बहिरङ्ग सेवा, मनोसामाजिक परामर्श लगायतका सेवाहरू थप व्यवस्थित बनाउन पहल भइरहेको छ।

फेर्ने प्रयास, तर चाप अझै उच्च

भवन परिसरमा घेराबार नहुँदा यसअघि सवारीसाधन पार्किङ र दुर्व्यसनी युवाको ओछ्यानस्थलको रूपमा प्रयोग हुँदै आएको केन्द्रमा अहिले पर्खाल र प्रवेशद्वार निर्माण गरी केही सुधार गरिएको छ।

महानगरपालिका र प्रदेश सरकारसँग आवश्यक उपकरण र जनशक्ति उपलब्ध गराउन पहल भइरहेको केन्द्रले जनाएको छ। “हामीले केही महिनादेखि सेवा सुधारमा काम गरिरहेका छौँ, तर सेवाग्राहीको बढ्दो चापले त्यो प्रयत्न पर्याप्त हुन सकेको छैन,” प्रमुख सुवेदीको भनाइ छ।

सेवाहरू र बिरामीको प्रकृति

हाल केन्द्रमा सबैभन्दा धेरै नसर्ने रोगका बिरामी आउने गरेका छन्। स्वास्थ्य बीमासँगै निःशुल्क स्वास्थ्य कार्यक्रमसमेत सञ्चालन भइरहेकाले बिरामीको चाप स्वाभाविक रूपमा बढेको हो।
केन्द्रले बहिरङ्ग सेवा, खोप तथा पोषण, एकीकृत बालरोग व्यवस्थापन, परिवार नियोजन, सुरक्षित मातृत्व, सुरक्षित गर्भपतन, सामान्य शल्यक्रिया र हर्मोनलबाहेकका सबै प्रकारका प्रयोगशाला परीक्षण सेवा प्रदान गरिरहेको छ।

भविष्यमा सुविधासम्पन्न केन्द्र बनाउने लक्ष्य

महानगरपालिकाको स्वास्थ्य महाशाखाले केन्द्रलाई पोखराकै सुविधासम्पन्न स्वास्थ्य संस्था बनाउने लक्ष्यसाथ आवश्यक पूर्वाधार, स्रोत र जनशक्ति व्यवस्थापनका लागि काम अघि बढाएको जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: