
पोखरा । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ। आइतबार सम्पन्न १७औं नगरसभामा पोखराका उपप्रमुख मन्जुदेवी गुरुङले बजेट सार्वजनिक गरेकी हुन्।
उपप्रमुख गुरुङका अनुसार प्रस्तुत बजेटमा नगर कार्यपालिकाको कार्यालयका लागि ५५ करोड, सामाजिक विकासतर्फ ३८ करोड, आर्थिक विकासका लागि १८ करोड, वडा कार्यालयहरूका लागि १ अर्ब, पूर्वाधार विकासतर्फ २ अर्ब ३३ करोड, र शहरी विकास, पर्यटन, वन तथा वातावरणतर्फ ३८ करोड रुपैयाँ विनियोजन गरिएको छ।
बजेटका स्रोतहरू
महानगरपालिकाले खर्च व्यहोर्ने मुख्य स्रोतहरूमा संघीय सरकारबाट प्राप्त अनुदान ३ अर्ब १ करोड ८१ लाख (३६.१३ प्रतिशत) रहनेछ भने आन्तरिक आयबाट ५ अर्ब २३ करोड ३१ लाख (६३.८७ प्रतिशत) जुटाउने योजना रहेको उपप्रमुख गुरुङले जानकारी दिइन्।
गत आर्थिक वर्षमा ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँको बजेट विनियोजन गरिएको थियो। तर, उपमेयर गुरुङका अनुसार जेठ मसान्तसम्ममा जम्मा ५५.४३ प्रतिशत मात्र खर्च भएको छ।
नीति तथा कार्यक्रम पनि सार्वजनिक
बजेट प्रस्तुत गर्नुअघि, आइतबारै पोखराका मेयर धनराज आचार्यले आर्थिक वर्ष २०८२/०८३ का लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। नीति तथा कार्यक्रममा कृषि, पर्यटन, पूर्वाधार निर्माण, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको छ।
