पोखरा-९ को रूपान्तरण झल्काउने ४० तस्बिर प्रदर्शनीमा, पर्यटन प्रवर्द्धनमा योगदानको अपेक्षा

Share:

पोखरा। नेपाल फोटो पत्रकार संघ (एनपीजेए) कास्कीको आयोजनामा पोखरा महानगरपालिका-९ मा भएको विकासक्रम झल्काउने ‘तस्बिरमा पोखरा-९’ फोटो प्रदर्शनी सम्पन्न भएको छ।पोखरा-९ वडा कार्यालयको सहकार्यमा आयोजित उक्त प्रदर्शनी शुक्रबार महेन्द्रपुलस्थित अन्तर्राष्ट्रिय झण्डा पार्क नजिकैको फल्चामा आयोजना गरिएको हो। कार्यक्रममा पोखरा-९ वरपरका क्षेत्रसँगै समग्र पोखराको ऐतिहासिक, पर्यटकीय र समसामयिक विषयवस्तु समेटिएका ४० थान फोटोहरू प्रदर्शनमा राखिएको एनपीजेए कास्कीका अध्यक्ष राम गुरुङले जानकारी दिए।

ऐतिहासिकता र पर्यटन प्रवर्द्धनलाई जोड

अध्यक्ष गुरुङका अनुसार विभिन्न कालखण्डमा खिचिएका तस्वीरहरूमार्फत पोखराको विकासक्रम, पर्यटन सम्भावना र सांस्कृतिक धरोहर उजागर गरिएको छ। “फोटोको माध्यमबाट पोखराको पर्यटन प्रवर्द्धन र ऐतिहासिकता दर्साउनु नै कार्यक्रमको मुख्य उद्देश्य हो,” उनले भने। प्रदर्शनीमा पोखरा–३ का वडाध्यक्ष प्रकाशमान उदास, पोखरा-९ का वडासदस्यहरू, पत्रकार, विद्यार्थी र स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

विकासको दस्तावेजका रूपमा फोटो

प्रदर्शनीको उद्घाटन पोखरा-९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले गरेका थिए। उनले तस्वीरहरूलाई वडाको दस्तावेज र विकासको नमुनाको रूपमा वर्णन गरे। “पुराना तस्वीरले तत्कालीन अवस्था देखाउँछन् भने अहिलेका फोटोहरूले विकासक्रमलाई उजागर गरेका छन्,” उनले बताए।

उनले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिसकिएको र पोखरा भ्रमण वर्ष २०२५ सुरु भएको सन्दर्भमा यस्तो प्रदर्शनीले पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। साथै, आगामी दिनमा पनि फोटो पत्रकारहरूले आयोजना गर्ने सिर्जनात्मक कार्यक्रममा वडा कार्यालयले सधैं साथ दिने प्रतिवद्धता पनि जनाए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मीले फोटो पत्रकारिता सञ्चार क्षेत्रको अपरिहार्य पक्ष भएको उल्लेख गरे। “शब्दले भन्न नसक्ने कुरा फोटोले प्रस्ट देखाउन सक्छ,” उनले भने, “त्यसैले सबै सञ्चारमाध्यमले फोटो पत्रकार नियुक्त गर्नुपर्छ।”

कमेन्ट गर्नुहोस्
Share: