
पोखरा । कास्की जिल्लालाई ‘पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला’ घोषणा गरिएको छ। सोमबार जिल्ला खोप समन्वय समिति कास्कीको आयोजनामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले औपचारिक रूपमा उक्त घोषणा गरे।
मन्त्री पाठकले रोगबाट नागरिकलाई सुरक्षित राख्न प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा प्राथमिकता दिएको बताउँदै, सर्ने तथा नसर्ने दुवै रोगबाट सुरक्षित समाज निर्माण भए मात्र समृद्धिको यात्रा सहज हुने धारणा व्यक्त गरे ।
उनले प्रदेशअन्तर्गतका अस्पतालहरूको स्तरोन्नति, सेवा तथा नागरिक स्वास्थ्य कार्यक्रमको विस्तार, र आवश्यक स्वास्थ्य जनशक्ति उत्पादनमा सरकार केन्द्रित रहेको जानकारी दिए। मानसिक रोग भयावह बन्दै गएकाले विशेष अस्पतालको आवश्यकता महसुस गरिएको भन्दै त्यसतर्फ सुधारका काम अघि बढाइएको पनि मन्त्री पाठकले बताए।
महिला स्वास्थ्य स्वयंसेविकाहरूका समस्या समाधान गर्न मन्त्रालयबाट आवश्यक पहलकदमी लिइएको जानकारी पनि उनले र्दिए।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा खोप समन्वय समिति कास्कीका संयोजक लिलाधर पौडेलले सरकारी संयन्त्र, स्वयंसेविका तथा कास्कीबासीको सहकार्यबाट यो उपलब्धि सम्भव भएको बताउँदै आरोग्य र स्वस्थ कास्की निर्माणको आधार तयार हुँदै गएको उल्लेख गरे।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरकारी अधिकारी, स्वास्थ्यकर्मी तथा पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, महिला स्वास्थ्य स्वयंसेविका सञ्जाल कास्कीकी अध्यक्ष भीमा पौडेल, प्रादेशिक स्वास्थ्य निर्देशनालय गण्डकीका महानिर्देशक खिमबहादुर खड्का, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, र अन्य विशिष्ट अतिथिहरूले मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा ६० वर्ष उमेर पार गरेका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मानसहित विदाई गरिएको थियो।
कार्यक्रम लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। स्वागत मन्तव्य जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए भने कार्यक्रम सञ्चालन प्रादेशिक जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीले गरेका थिए ।
