
पोखरा। गण्डकी प्रदेश सरकारले युवालाई आत्मनिर्भर र स्वरोजगार बनाउने उद्देश्यले सञ्चालन गरेको सीपमूलक तालिम कार्यक्रम प्रभावकारी रूपमा अघि बढिरहेको छ। सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा चालू आर्थिक वर्ष २०८१/८२ मा हालसम्म ३८ वटा तालिम सम्पन्न भइसकेका छन्, जसमा ७८७ युवाको सहभागिता रहेको छ।
पछिल्ला तीन महिनामै १० वटा व्यावसायिक तालिमहरू सम्पन्न भई २०४ जना युवा व्यवसायिक यात्राको सुरुवातमा उत्रिएका छन्। तालिमको समापन कार्यक्रममा युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापाले आगामी वर्षमा १४ सयभन्दा बढी युवालाई लक्षित गरी व्यावसायिक तालिम सञ्चालन गरिने योजना सार्वजनिक गरे।
सस्तो ऋण र सिट मनीको व्यवस्था
मन्त्री थापाका अनुसार आर्थिक रूपमा कमजोर युवाहरूलाई स्वरोजगारमा टेवा पुर्याउने उद्देश्यले ‘सिट मनी’को व्यवस्था आगामी वर्षको बजेटमा समेटिएको छ। साथै, प्रदेश सरकारले सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउन बैंकहरूमा सिफारिस गर्ने व्यवस्था पनि मिलाएको जानकारी उनले दिए। “काम सानो ठुलो हुन्न, श्रमको सम्मान गर्ने नै अगाडि बढ्छ,” मन्त्री थापाले भने।
प्रशिक्षार्थीको आत्मविश्वास
प्रशिक्षार्थी पुष्पा पहारीले तालिमले आफूजस्ता आर्थिक रूपले कमजोर पृष्ठभूमिका युवालाई आत्मविश्वासी बनाएको अनुभव सुनाइन्। “केही बन्छु, केही गर्छु भन्ने आत्मविश्वास जागेको छ,” उनले भनिन्, “अब सिकेको सीपलाई राम्रो ठाउँमा लगानी गर्नेछु।”
१० थरी तालिम, स्वरोजगारको ग्यारेन्टी
सीप विकास तालिम केन्द्र पोखराका नि. केन्द्र प्रमुख डिल्लीराज सुवेदीले पछिल्लो तालिममा मोबाइल मर्मत, प्लम्बिङ, सिलाई-कटाई, ब्युटी पार्लर, फेसन डिजाइन, सैलुन, मण्टेश्वरी, कुकिङ (बिहानी/दिवा), र एडभान्स कटाई-सिलाईसहित १० थरी व्यावसायिक तालिम सञ्चालन भएको जानकारी दिए।
उनका अनुसार, “स्वावलम्बी बन्ने यात्रामा तालिमले उल्लेखनीय टेवा पुर्याउनेछ।” गण्डकी प्रदेश सरकारले आगामी वर्षमा तालिमको दायरा थप विस्तार गर्दै सीप सिकेका युवाहरूलाई आत्मनिर्भर बनाउने र सामाजिक तथा आर्थिक रूपान्तरणमा योगदान पुर्याउने स्पष्ट लक्ष्य लिएको छ।
