महिला टी-२० क्रिकेट: स्याङ्जालाई लगातार दोस्रो उपाधि, सिमाना केसी सर्वोत्कृष्ट खेलाडी

Share:

पोखरा। स्याङ्जा जिल्लाले गण्डकी प्रदेश टी-२० महिला क्रिकेट प्रतियोगिताको उपाधि दोस्रो पटक आफ्नो नाममा लेखाउन सफल भएको छ। प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनलमा स्याङ्जाले कास्कीलाई ७ विकेटले पराजित गर्दै उपाधि रक्षा गरेको हो।

फाइनल खेल शनिबार पोखरामा सम्पन्न भएको थियो। उपाधिसँगै विजेता स्याङ्जाले नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता कास्कीले ५० हजार रुपैयाँमा चित्त बुझाएको छ।

कास्कीको कमजोर प्रदर्शन, स्याङ्जाको सहज जीत

टस जितेर पहिला ब्याटिङ गरेको कास्की टोली १६ ओभरमै सबै विकेट गुमाएर मात्र ५६ रन जोड्न सफल भयो। कास्कीका लागि रेखा तामाङले २४ रन (२ चौका, १ छक्का) र रचना चौधरीले १४ रन (२ चौका) बनाए पनि अन्य ब्याटरहरूले उल्लेखनीय योगदान दिन सकेनन्।

कास्कीका ७ जना ब्याटर दोहोरो अंकमा पुग्न नसकी आउट भए। सिर्जना पौडेल ५, विनिता नेपाली, शिखा दवाडी, रिया तामाङ, यशोदा भुजेल, सुशिला डिम्टुक र सोनिमा पुन शून्यमै पेभिलियन फर्किए।

अपेक्षा र सिमानाको घातक बलिङ

स्याङ्जाका लागि अपेक्षा बुढाथोकीले उत्कृष्ट बलिङ गर्दै ३ ओभरमा मात्र ६ रन खर्चेर ४ विकेट लिइन्। सिमाना केसीले पनि प्रभावशाली प्रदर्शन गर्दै ४ ओभरमा १३ रन दिएर ३ विकेट झारिन्।

लक्ष्य सजिलै पुरा, सिमाना केसी अविजित

५७ रनको सामान्य लक्ष्य पछ्याएको स्याङ्जा टोलीले १०.३ ओभरमा ३ विकेटको क्षतिमा ६० रन बनाएर उपाधि हात पार्‍यो। सिमाना केसीले २२ बलमा १७ रन बनाउँदै अविजित रहिन्। कुशुम गोदारले १३ बलमा ११ रन जोडिन्। ओपनर श्रेया शाह (५), सलिना सेन (६), र ज्योत्स्निका मरासिनी (६) रनमा आउट भए। कास्कीका रचना चौधरी र यशोदा भुजेलले १–१ विकेट लिए।

सिमाना केसीलाई ट्रिपल उपाधि

स्याङ्जाकी सिमाना केसी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, फाइनलको ‘वुमन अफ दी म्याच’ र उत्कृष्ट बलर घोषित भइन्। कास्कीकी सिर्जना पौडेल उत्कृष्ट ब्याटर घोषित भइन् भने सोनिमा पुन मगरलाई उदियमान खेलाडीको उपाधि प्रदान गरियो। चार दिनसम्म चलेको प्रतियोगितामा स्याङ्जा, कास्की, नवलपुर र पर्वत जिल्लाका टोलीहरूको सहभागिता रहेको थियो।

कमेन्ट गर्नुहोस्
Share: