अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई नगदसहित सम्मान

Share:

जातीय विभेद अन्त्य र सामाजिक समावेशितालाई प्रोत्साहन गर्न भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई नगदसहित सम्मान गरेको छ। प्रत्येक जोडीलाई एक लाख रुपैयाँको नगद पुरस्कारसहित सम्मान गरिएको हो।

कार्यक्रममा महानगर प्रमुख रेनु दाहालले विगत पाँच वर्षदेखि अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गर्ने परम्परा कायम राखिएको उल्लेख गर्दै, प्रत्येक वर्ष सम्मानित हुने जोडीको संख्या बढ्दै गएकोमा खुसी व्यक्त गरे ।

जातीय विभेद अझै पनि केही अंशमा कायम रहेकाले यसलाई हटाउन सामूहिक प्रयासको आवश्यकता रहेको उहाँको भनाइ थियो। उनले संविधानले जातीय विभेदलाई अपराधका रूपमा परिभाषित गरिसकेको र २०६२/६३ सालको आन्दोलनपछि समाजमा केही सकारात्मक परिवर्तन देखिएको धारणा राखे ।

कार्यक्रममा नगर उपप्रमुख चित्रसेन अधिकारीले पनि अन्तरजातीय विवाहले सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेलेको बताए। यद्यपि अहिले पनि समाजमा यस्तो विवाहलाई नस्वीकार्ने सोच विद्यमान रहेको भन्दै, यसलाई क्रमशः तोड्दै जानुपर्ने कुरामा जोड दिए।

त्यस्तै, महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले पहिलो पटक २०२१ सालमा दलितमाथिको भेदभावलाई दण्डनीय अपराधको रूपमा परिभाषित गरिए पनि, ६ दशकपछि पनि पूर्णरूपमा विभेद अन्त्य नभएको बताए। उनले सामाजिक क्रान्तिमा होमिएका जोडीहरूलाई एकतामा बाँधिएर अगाडि बढ्न प्रेरणा दिँदै धन्यवाद ज्ञापन गरे ।

सम्मानित अन्तरजातीय जोडीहरूको सूची हेर्नुहोस् :

करण योगी – दिया रामदाम (भरतपुर–१६)
अनुप सुनार – सुस्मिता श्रीष (भरतपुर–२०)
अनिल हरिजन – लक्ष्मी लामिछाने
अशोक परियार – सुमिता रानामगर
मनोज विश्वकर्मा – जसिका श्रेष्ठ (भरतपुर–११)
सुमन परियार – सिमा लामा परियार (भरतपुर–६)
रुपेश भुजेल – अस्मिता विक
अशोक परियार – आरती महतो (भरतपुर–२७)
किसान परियार – इन्दिरा तामाङ (भरतपुर–२४)
सरोज सुनार – सोममाया घले सुनार (भरतपुर–१६)
विष्णु पौडेल – रोशनी परियार (भरतपुर–१०)
दिपेश सदाशंकर – अन्सु श्रेष्ठ (भरतपुर–२३)
किरण विक – सुनन्दा श्रेष्ठ (भरतपुर–१९)
अविशेक दर्जी – राधा शर्मा (भरतपुर–२८)
मनिष थापा – कुसुम विश्वकर्मा (भरतपुर–१२)

विगतका सम्मान विवरण पनि हेर्नुहोस् :

आ.व. २०७७/७८ – ३ जोडी
आ.व. २०७८/७९ – ३ जोडी
आ.व. २०७९/८० – ७ जोडी
आ.व. २०८०/८१ – १० जोडी
यस सम्मान कार्यक्रममार्फत जातीय समानता, सामाजिक समावेशिता र सम्मानजनक सहअस्तित्वको सन्देश फैलिने अपेक्षा लिइएको छ।

 

कमेन्ट गर्नुहोस्
Share: