गगनकालिका सहकारीद्वारा १५औं स्थापना दिवसमा रक्तदान कार्यक्रम

Share:

पोखरा । पोखरा महानगरपालिका-३२, तल्लो गगनगौडामा मुख्य कार्यालय रहेको गगनकालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १५औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

संस्थाको सेवा क्षेत्र पोखरा महानगरपालिका वडा नं २९, ३०, ३१, ३२ र ३३ मा फैलिएको छ। रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गरेका थिए। कार्यक्रमको उद्घाटन वडा नं ३२ का अध्यक्ष अक्कलबहादुर कार्कीले गर्दै रक्तदानको महत्वमाथि प्रकाश पारे। उनले वडामा भइरहेको विकास निर्माणका गतिविधिबारे पनि जानकारी दिए।

कार्यक्रमका सभापति तथा सहकारीका अध्यक्ष किसान परियारले सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको बताए। साथै, सहकारीको सेवा समय सापेक्ष, गुणस्तरीय र प्रभावकारी बनाउने उद्देश्यले मोबाइल बैंकिङ सेवा सुरु गरिएको बताए।

संस्थापक सचिव तथा पूर्व अध्यक्ष मेघराज पौडेलले संस्थाको स्थापना यता गरिएका गतिविधिहरूको समिक्षा प्रस्तुत गरे । कार्यक्रम अध्यक्ष किसान परियारको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यबाहक सचिव गीता थापाले सञ्चालन गरेको कार्यक्रमको स्वागत उपाध्यक्ष कमलबहादुर पुनले गरेका थिए । सदस्य मनमाया पुनले सहकारीका सिद्धान्त वाचन गरेकी थिइन् ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका महासचिव जानुका पराजुली, सदस्य भरत थापा, रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल, पूर्व रक्तदाता मोहनकुमार प्रधान, गगन महिला विकास सहकारीकी अध्यक्ष निशा पौडेल र गगनगौंडा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बसन्तराज पौडेललगायतले मन्तव्य राखेका थिए।

हाल सहकारीमा ७४० जना शेयर सदस्य छन्। संस्थाको शेयर पुँजी चार करोड २६ लाख रुपैयाँ पुगेको छ भने कुल कारोबार १५ करोड रुपैयाँभन्दा बढी रहेको जानकारी पनि कार्यक्रममा प्रस्तुत गरिएको थियो।

 

कमेन्ट गर्नुहोस्
Share: