भानु जयन्तीमा साहित्यकार शालिग्राम आचार्यलाई सम्मान

Share:

पोखरा । कवि एवं शिक्षासेवी शालिग्राम आचार्य पोखरामा सम्मानित भएका छन् । २ सय १२ औं भानु जयन्तीको अवसरमा आचार्य समाज केन्द्रीय समितिले आइतबार पोखरामा आयोजना गरेको कार्यक्रममा कवि आचार्यलाई नेपाली साहित्य र धार्मिक जागरणका क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै सम्मान गरेको हो।

उनलाई कार्यक्रमका प्रमुख अतिथि डा. सिपी आचार्य, सल्लाहकार छविलाल आचार्य र केन्द्रिय अध्यक्ष बलराम आचार्यले सम्मान पत्रका साथमा मायाको चिनो र दोसल्ला ओढाएर सम्मान गरे ।

कार्यक्रममा प्रमुख अतिथि डा. आचार्यले नेपाली भाषा र साहित्यको विकासमा आदिकवि भानुभक्त आचार्यको योगदानको चर्चा गर्दै, साहित्य र श्रष्टाको विकासमा समाजले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने सुनाए।

सम्मानित साहित्यकार शालिग्राम आचार्यले जीवनको लामो समय साहित्य रचनामा नै लागेको स्मरण गर्दै, नेपाली भाषा र साहित्यको उन्नयनमा सबैको ध्यान जानुपर्ने बताए।

अध्यक्ष बलराम आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व अध्यक्ष एवं कवि छविलाल आचार्य लगायतकाले भानु विशेष कविता वाचन गरेका थिए।

कार्यक्रम समाजका महासचिव नारायण प्रसाद आचार्यले सञ्चालन गरेका थिए । त्यस अघि सहभागीले आदिकवि भानुभक्त आचार्यको शालिकमा माल्यार्पण गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: