पोखरा रत्नचोकमा श्रीमद्भागवत सप्ताह तथा श्रीकृष्ण कथा प्रवचन सुरु

Share:

पोखरा। पोखरा महानगरपालिका-८, रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा एक महिने श्रीमद्भागवत चर्चा तथा श्रीकृष्ण कथा प्रवचन कार्यक्रम सुरु भएको छ।

आगामी साउन ३१ गतेसम्म सञ्चालन हुने यस धार्मिक अनुष्ठानको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापाले एक समारोहका बीच गरे।

कार्यक्रमको उद्घाटन गर्दै मन्त्री थापाले धार्मिक तथा आध्यात्मिक कार्यक्रमहरूले समाजमा सकारात्मक ऊर्जा सिर्जना गर्ने उल्लेख गरे। उनले अनुशासित, सभ्य र नैतिक समाज निर्माणमा यस्ता अनुष्ठानले महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै धार्मिक पर्यटन प्रवर्द्धनमा पनि यसले टेवा पुर्‍याउने बताए।

मन्त्री थापाले धर्म र संस्कृति जोडेर लैजाँदा धार्मिक पर्यटनको क्षेत्रलाई सशक्त बनाउन सकिने बताए। प्रदेश सरकारले श्रीकृष्ण प्रणामी मन्दिरमा लगानी गरिसकेको उल्लेख गर्दै उहाँले सो लगानीको सदुपयोग गर्नसमेत आग्रह गरे।

राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष बैनबहादुर गुरुङले धार्मिक अनुष्ठानहरूको सामाजिक मूल्य रहेको भन्दै मन्दिरका लागि आवश्यक भूमि व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले पोखरा महानगरपालिकाबाट वितरण भएका निस्साहरू आयोगमा अझै नपठाइएको जानकारी दिँदै ती निस्साहरू प्राप्त हुनेबित्तिकै आवश्यक प्रक्रिया अघि बढाउने प्रतिवद्धता व्यक्त गरे।

श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रीय सदस्य पुरुषोत्तम रेग्मीले प्रत्येक वर्ष कृष्णजन्माष्टमीको अवसर पारेर आयोजना हुने श्रीमद्भागवत चर्चा यस वर्ष पनि असार ३१ देखि साउन ३१ सम्म सञ्चालन हुने जानकारी दिए। उनले श्रद्धालु भक्तजनलाई कार्यक्रममा सहभागिता जनाउन आग्रह गरे।

पत्रकार एमबी आस्था मगरले समाजमा नैतिक शिक्षाको खाँचो औँल्याउँदै श्रीकृष्ण प्रणामी मन्दिरले धर्मको माध्यमबाट शिक्षा र चेतना फैलाउने कार्य गरिरहेको भन्दै धन्यवाद ज्ञापन गरे।

मासबार आमा समूहकी अध्यक्ष शारदा गिरीले मन्दिरले समाज रुपान्तरण र धर्म संरक्षणमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै मन्दिर परिवारप्रति आभार व्यक्त गरे।

श्रीकृष्ण प्रणामी सेवा समिति कास्कीका अध्यक्ष कृष्ण ढुंगानाले श्रीमद्भागवत चर्चा जीवनबारे सही दृष्टिकोण प्रदान गर्ने सत्संग भएको भन्दै सहभागी हुन सबैलाई आग्रह गरे।

कार्यक्रमका संयोजक केशव प्रसाद बरालले स्वागत मन्तव्य दिएका थिए भने सचिव लक्ष्मण बरालले कार्यक्रम सञ्चालन गरेका थिए।

यसअघि श्रीकृष्ण प्रणामी मन्दिरबाट सुरु भएको कलश यात्रा रत्नचोक, सिर्जनाचोक, सभागृहचोक, पृथ्वीचोक, नागढुंगा, चरक अस्पताल हुँदै पुनः मन्दिरमै पुगेर समापन भएको थियो।

कार्यक्रममा श्रीकृष्ण प्रणामी धर्मकी धर्मप्रचारिका साध्वी उर्वशी माताजीको मुखारविन्दुबाट दैनिक संगीतमय श्रीकृष्ण कथा प्रवचन हुने बताइएको छ।

कमेन्ट गर्नुहोस्
Share: