
पोखरा। पोखरामा चिनियाँ पर्यटकहरूको आगमनलाई लक्षित गर्दै नेपाल एसोसियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजनामा तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहकार्यमा ४५ दिने चिनियाँ भाषा तालिम सम्पन्न गरिएको छ।
नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहालका अनुसार, चिनियाँ पर्यटकहरूको स्वागत र सेवा थप प्रभावकारी बनाउन तालिम सञ्चालन गरिएको हो। पोखरामा आउने पर्यटकहरूसँग सामान्य संप्रेषण र पर्यटन व्यवसायमा सहयोग पुग्ने विश्वास लिइएको उनले जानकारी दिए।
तालिममा पोखरामा पर्यटन व्यवसाय सञ्चालन गरिरहेका ८४ जनाको सहभागिता रहेको थियो। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले तालिमलाई बहुपयोगी र व्यावहारिक भन्दै आगामी दिनमा यस्ता तालिमहरूलाई अझ परिस्कृत बनाउँदै लैजानुपर्ने आवश्यकता औंल्याए।
नाट्टा गण्डकी प्रदेशका महासचिव चेतन कार्कीका अनुसार तालिममा चिनियाँ प्रशिक्षक रिहा र हानले सहजीकरण गरेका थिए। तालिमको समापन कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, पोखरा भ्रमण वर्ष २०२५ कार्यान्वयन समितिका संयोजक गोपीबहादुर भट्टराई, नाट्टा गण्डकी प्रदेशका पूर्वअध्यक्ष परिषद्का संयोजक बासु त्रिपाठी, निवर्तमान अध्यक्ष हरिराम अधिकारी, प्रशिक्षार्थी संगीता अधिकारी लगायतले भाषिक तालिमले पर्यटन व्यवसायलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
