
पोखरा। मुग्लिन-पोखरा राजमार्गमा यात्रा गर्ने जो कोहीको आँखा अहिले तनहुँको मादी नदीमा अडिन्छ । पुरानो, साँघुरो पुलको समानान्तरमा एउटा विशाल र आधुनिक संरचनाले आकार लिइरहेको छ, यो नेपालकै पहिलो लामो र चार-लेन भएको पुल हो । यो केवल एउटा पुल मात्र होइन, नेपाली इन्जिनियरिङ क्षमता र पूर्वाधार विकासको एउटा नयाँ कोसेढुंगा पनि हो ।
३१८ मिटर लामो यो पुल निर्माण सम्पन्न भएपछि यसले राजमार्गको यात्रालाई सहज र सुरक्षित बनाउने मात्र छैन, देशको पूर्वाधार निर्माणमा ‘डिजाइन–बिल्ड’ मोडलको सफलतालाई समेत प्रमाणित गर्नेछ ।
के हो यो पुलको विशेषता ?
यो पुलको सबैभन्दा ठूलो विशेषता यसको बनावट र निर्माण प्रक्रिया हो । मुग्लिन–पोखरा सडक आयोजना (पूर्वी खण्ड) का प्रमुख प्रकाशचन्द्र भण्डारीका अनुसार यो पुल ‘डिजाइन-बिल्ड’ अवधारणामा बनिरहेको छ ।
‘नेपाल सरकारले सैद्धान्तिक डिजाइन दिएपछि निर्माण व्यवसायीले नै विस्तृत डिजाइन तयार गरेर निर्माण गरिरहेको छ,’ उनी भन्छन्, ‘यसको डिजाइनदेखि निर्माणसम्मको सम्पूर्ण जिम्मेवारी ठेकेदारकै हो, जसले नेपाली प्राविधिक र निर्माण व्यवसायीको आत्मविश्वास बढाएको छ ।’
पुलमा ६ वटा स्प्यान (भाग) छन् । जसमध्ये चारवटा आरसीसी बक्स गर्डर प्रकृतिका छन् भने बीचका दुईवटा स्प्यान काठमाडौंको बिजुलीबजारमा बनेको जस्तै ‘नेटवर्क आर्च’ डिजाइनका हुनेछन् । यसले पुललाई बलियो मात्र नभई सौन्दर्यको हिसाबले पनि आकर्षक बनाउनेछ ।
बजेट र प्रगति
१ अर्ब २१ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको यो पुलको वित्तीय प्रगति ७१ प्रतिशतभन्दा बढी भइसकेको छ । सन् २०२२ को सेप्टेम्बरमा सम्झौता भएको यो आयोजना २०२५ सेप्टेम्बरमा सम्पन्न गर्नुपर्ने लक्ष्य छ । यद्यपि, निर्माणमा देखिएको गतिले तोकिएको समयभन्दा अगावै सम्पन्न हुने आशा जगाएको छ ।
निर्माण कम्पनी अनक कन्स्ट्रक्सनका साइड म्यानेजर दिनेशकुमार श्रेष्ठका अनुसार निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ । ‘हामीले डिजाइन-बिल्डको अवधारणामा काम गर्दा सर्भे, डिजाइन र निर्माण एकैसाथ अघि बढाउन सकेका छौँ, जसले समयको बचत गरेको छ,’ उनी भन्छन् ।
यो महत्वाकांक्षी आयोजना चुनौतीरहित भने थिएन । आयोजना प्रमुख भण्डारीका अनुसार सबैभन्दा ठूलो चुनौती डिजाइन स्वीकृतिका लागि लागेको १३ महिनाको लामो समय थियो । निर्माण कम्पनीका म्यानेजर श्रेष्ठ पनि सुरुमा डिजाइन स्वीकृत हुन १६–१७ महिना लाग्दा काममा केही ढिलाइ भएको स्वीकार्छन् ।
पुलको देब्रे किनारतर्फको पहरोमा रहेका आठ कित्ता जग्गा र त्यसमा बनेका घरहरूको मुआब्जा निर्धारण गरी वितरण गर्ने काम भइरहेको छ भने पुलको पहुँचमार्गले डिभिजन सडक कार्यालय, दमौलीको भवन र परिसरलाई छुने भएकाले त्यसलाई स्थानान्तरण गर्नुपर्ने चुनौती छ ।
यसैगरी पुलमा उच्च गुणस्तरको कंक्रिट (एम–फिप्टी ग्रेड) चाहिने भएकाले मादी नदीको मात्र सामग्रीले नपुग्ने देखियो। आयोजना प्रमुख भण्डारीले जानकारी दिँदै भने, ‘गुणस्तर सुनिश्चित गर्न हामीले सेती नदीबाट समेत निर्माण सामग्री ल्याएर मिसाएका छौं । ’
उनकाअनुसार बर्खायाममा नदीमा पानीको बहाव बढ्ने भएकाले बीचका दुई स्प्यानको काम रोकिएको छ, जुन मनसुन सकिएलगत्तै सुरु हुनेछ ।
यी तमाम चुनौतीका बावजुद आयोजनाले प्रशंसनीय प्रगति हासिल गरेको छ । ‘समस्याहरू लगभग समाधान भइसकेका छन्, अब काम गर्न मात्र बाँकी छ,’ भण्डारीले भने ।
अबको बाटोः कहिले सकिन्छ निर्माण ?
मनसुन सकिएपछि निर्माण कार्यले थप गति लिनेछ । निर्माण व्यवसायीले मनसुनपछिको तीनदेखि चार महिनाभित्रै बीचका दुई स्प्यानको काम सक्ने कार्यतालिका बुझाएको छ । साइड म्यानेजर श्रेष्ठ भन्छन्, ‘जग्गा र अन्य प्रक्रियागत समस्या समाधान हुनासाथ अबको ६ देखि ९ महिनाको कार्य सिजनमा हामी पुल तयार पार्छौं ।’
आयोजना पक्ष र निर्माण व्यवसायी दुवै अर्को आर्थिक वर्षभित्र पुल निर्माण सम्पन्न हुनेमा विश्वस्त छन् । यो पुल तयार हुनु भनेको केवल सवारीको आवतजावत सहज हुनु मात्र होइन । यो नेपाली इन्जिनियरहरूले नै डिजाइन गरेको, नेपाली निर्माण व्यवसायीले बनाएको र नेपालकै लागि एउटा गौरवशाली पूर्वाधार हो । जब यो पुलमा सरर गाडी गुड्न थाल्नेछन्, तब यसले एउटा बलियो सन्देश दिनेछ, नेपाल पूर्वाधार निर्माणमा आत्मनिर्भरता र उत्कृष्टताको नयाँ युगमा प्रवेश गर्दैछ ।
