
पोखरा। राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (निफ) केन्द्रीय समितिको आयोजनामा तथा गण्डकी प्रदेश समन्वय परिषद्को समन्वयमा पोखरामा दुईदिने तालिम सुरु भएको छ। “महिला तथा किशोरीका अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघको सिफारिस संख्या (GR-39)” विषयक उक्त तालिममा गण्डकी प्रदेशका ५५ जना महिलाको सहभागिता रहेको छ।
तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङले समाजमा समानता र समावेशिताको भावना बढ्दै जाँदा केही तत्वले संविधानको गलत व्याख्या गर्न खोजिरहेको उल्लेख गरे। उनले भने, “हिजो अरूको अधिकार खोसेर शासनमा रमाउनेहरु, र समाजमा सबै जातजाति तथा समुदायको प्रगति हेर्न नसक्ने दुईथरी तत्व बाहेकले अहिलेको संविधानको गलत व्याख्या गर्न सक्दैन।”
मन्त्री गुरुङले संविधानले सबै जातजाति, भाषा र समुदायलाई राज्यसँग अपनत्व कायम गर्न अवसर दिएको उल्लेख गर्दै त्यसको नकारात्मक व्याख्या गर्नेतर्फ नलाग्न आग्रह गरे। “आजको तीन तहको सरकारले सबै जातजाति र भाषालाई प्रतिनिधित्व दिने संविधान बनाएको छ। त्यसलाई गलत रूपमा प्रस्तुत गर्नु हुँदैन,” उनले जोड दिए।
उनले गण्डकी प्रदेशमा ‘मगर’ र ‘गुरुङ ‘ भाषालाई सरकारी कामकाजमा प्रयोग गर्नेसम्बन्धी विद्येयक २०८१ सर्वसम्मत पारित भइसकेको उल्लेख गर्दै चाँडै कार्यान्वयनमा ल्याइने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले घरेलु मदिरा व्यवस्थापनसम्बन्धी विद्येयक पनि चाँडै पारित हुने जानकारी दिइन्। उनले महिलामाथि हुने सबै प्रकारका भेदभाव अन्त्य गर्न सन् १९७९ मा पारित “CEDAW” महासन्धी अन्तर्गतको सिफारिस नम्बर ३९ लाई गण्डकी प्रदेशसभामा उठाउने प्रतिवद्धता जनाइन्।
तालिमकी प्रशिक्षक तथा त्रिभुवन विश्वविद्यालयकी उपप्राध्यापक मिना गुरुङले कार्यक्रम केवल आदिवासी महिलाका लागि नभई सबैका लागि महत्त्वपूर्ण रहेको बताइन्। “हामी आदिवासी महिला हौं, र हाम्रो भाषा, धर्म, संस्कृति र पहिचानसँग जोडिएको हरेक अधिकारको कुरा संविधानले प्रस्ट रूपमा उठाउन सकेको छैन। तर सिफारिस नम्बर ३९ ले यी विषयलाई केन्द्रमा राखेर बोलेको छ,” उनले भनिन्।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्यहरू रेखा गुरुङ, राजकुमारी भुजेल, तमु ह्युल छोंज धीका केन्द्रीय उपमहासचिव विष्णु गुरुङ, निफ गण्डकीका सल्लाहकार पूर्ण लामा, श्याममाया पुन मगर, आदिवासी जनजाति महासंघका केन्द्रीय उपाध्यक्ष स्रुति कुमाल, निफ गण्डकी प्रदेश संयोजक माया गुरुङ भुजेल, नेपाल तामाङ घेदुङ कास्कीका अध्यक्ष भक्त तामाबलगायतले मन्तव्य दिएका थिए।
कार्यक्रम निफ केन्द्रीय उपाध्यक्ष कल्पना भट्टचनको अध्यक्षतामा, कोषाध्यक्ष देउ छन्त्यालको स्वागत मन्तव्य तथा सचिव मिलन भुजेलको सञ्चालनमा सम्पन्न भएको थियो।


