
रञ्जन अधिकारी पोखरा, २९ भदौ । पोखरामा गत आईतबार भएका दुई छुट्टाछुट्टै दुर्घटनाबाट दुई जनाले ज्यान गुमाएका छन् । पोखरा १० अमरसिंहचोक र उत्तमचोकमा बसचालकको लापरबाहीले स्कुटर चालक र साईकलयात्रीको ज्यान गयो । आईतबार राति रात्रि बसको ठक्करबाट गम्भिर घाइते भएका साइकल यात्रीको मंगलबार मृत्यु भएको भएको हो भने आईतबार नै दिउँसो पोखरा लेखनाथ चल्ने मिनीमाईक्रो बसको ठक्करले पुतलीबजार स्याङ्जा घर भई पोखरा ८ सिमलचौर बस्ने २४ वर्षीया जमुना पहारी अर्यालको मृत्यु भएको थियो ।
बेनीबाट काठमाडौंका लागी छुटेको ना ४ ख ९०३८ नं को बसले उत्तम चोकमा सडक छेउमा हिँडिरहेका साइकल यात्री काशिराम वास्तोलालाई राति ११ः१० मा ठक्कर दिएको थियो । पुरनचौर १ कास्की घरभई रामबजार बस्दै आएका ४२ बर्षिय बास्तोला बिहानदेखी बेलुकासम्म साइकलमा पाउरोटी बिक्री गर्दै आएका थिए । तीब्र गतिको बसले रातको समयमा पछाडीबाट एक्कासी ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी निरिक्षक श्यामु अर्यालले बताए । ठक्कर पश्चात् टाउकोमा गम्भिर चोट लागेका वास्तोलालाई पश्मिाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकोमा अवस्था गम्भिर भएपछि मणिपाल शिक्षण अस्पताल लगिएको थियो । उपचारको क्रममा मंगलबार दिउँसो साढे चार बजे उनको मृत्यु भएको हो ।
सुनसान सडकमा लापरबाही ढङ्गले दुर्घटना गराउने बसका चालक सोलुखुम्बु केरुङ्गा ८ घर भएका ४२ बर्षिय कुल बहादुर गुरुङ र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ‘दिनमा भए त एउटा कुरा, रातको समयमा सडकछेउमा साईकलमा हिँडिरहेका व्यक्तिलाई ठक्कर दिईएको छ’ – अर्यालले भने– ‘हामी सवारी दुर्घटना न्युनिकरणका लागि विभिन्न प्रयासहरु गरिरहेका छौं, एकै दिन चालककै लापरबाहीले लगातार दुर्घटना हुँदा अझै चालकलाई सहजीकरणको खाँचो रहेको निश्कर्ष निकालेका छौं ।’
चाडबाडको समयमा यात्रुको चाप बढी हुने, वर्षाको समयमा जोखिमपूर्ण बाटो हुनेहुँदा बस चालकलाई क्षमता भन्दा बढी यात्रु नराख्न र यात्रु आफै पनि त्यस्तो सवारीमा यात्रा नगर्न प्रमुख अर्यालले आग्रह गरे । ‘ओभर टेक, ओभर स्पिड, ओभर लोड, ओभर स्मार्ट हुँदा दुर्घटना भएका छन्’ – उनले भने– ‘यात्रुहरुले पनि सवारी नियम पालना गर्दै सडकमा नहिँड्ने, साना सवारी चालकले नियमानुसार चलाउने हो भने दुर्घटना कम हुन्छ ।’
