गण्डकी प्रदेशमा स्वास्थ्य क्षेत्र सुधारतर्फ सरकारको प्राथमिकता: मन्त्री पाठक

Share:

पोखरा । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले प्रदेशमा स्वास्थ्य प्रणाली सुदृढ गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। उनले प्रदेशभरका अस्पतालहरूको स्तरोन्नति गर्दै मध्यकालीन र दीर्घकालीन योजना अघि सारिएको जानकारी दिए।

आइतबार पोखरामा आयोजित “परिवार नियोजन, यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार” विषयक प्रदेशस्तरीय कार्यशालाको उद्घाटन गर्दै मन्त्री पाठकले स्वास्थ्य सेवा पहुँचयोग्य र गुणस्तरीय बनाउन बागलुङ र गोरखा जिल्लामा एचए (हेल्थ असिस्टेन्ट) अध्ययनको व्यवस्था मिलाउन लागिएको जानकारी दिए।

उनले परिवार नियोजन संघसँग सहकार्य गर्दै प्रजनन स्वास्थ्यसम्बन्धी कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालयमार्फत सञ्चालन गरिने बताए। साथै, आगामी नीति तथा कार्यक्रममा प्रजनन स्वास्थ्यलाई प्राथमिकताका साथ समावेश गरिने प्रतिवद्धता पनि व्यक्त गरे।

कार्यक्रममा सहभागी प्रदेश सांसदहरूले यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकारसम्बन्धी प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै, विपद्‌को समयमा समेत नागरिकलाई गुणस्तरीय सेवा तथा सूचना सुनिश्चित गर्न, शिशु, बाल तथा मातृ मृत्युदर न्यूनीकरण गर्न तथा परिवार नियोजनका आधुनिक साधनको सहज पहुँच सुनिश्चित गर्न प्रतिबद्धता जनाए।

उनीहरूले यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी नीतिहरूको पुनरावलोकन गरी आवश्यक बजेट विनियोजन गर्ने र त्यसलाई अझ व्यावहारिक बनाउने प्रतिबद्धता पनि जनाए।

कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकास तथा कृषि समिति सभापति दमयन्ती रुचाल, पूर्वमन्त्री एवं राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङ, प्रदेश सांसदहरू प्रकाश बराल, सरस्वती गुरुङ, देवका पहारी, गणेशमान गुरुङ, नन्दकला नेपाली, प्रदेश नीति तथा योजना आयोग सदस्य दुर्गा अधिकारी, स्वास्थ्यकर्मी विद्या कोइरालालगायतले मन्तव्य व्यक्त गरेका थिए।

गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्काले ‘गण्डकी प्रदेशमा स्वास्थ्य तथा परिवार योजना कार्यक्रमको अवस्था’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै ५ वर्षमुनिका बालबालिकामध्ये ४५ हजार छोरा र ३९ हजार छोरी मात्र जन्मिएको उल्लेख गरे। जन्मदरमा देखिएको लैंगिक असमानता प्रति गम्भीर ध्यान दिनुपर्नेमा जोड दिइयो।

त्यसैगरी, परिवार नियोजन संघका चेतराज जोशीले ‘परिवार नियोजन र प्रजनन स्वास्थ्य’ विषयमा अर्को कार्यपत्र प्रस्तुत गरे।

कार्यक्रममा जिसस कास्कीका प्रमुख लीलाधर पौडेल, मादी गाउँपालिका अध्यक्ष देवीजंग गुरुङ, रुपाका अध्यक्ष नवराज ओझा, शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्य, पोखरा महानगरका प्रवक्ता मोतीलाल तिम्सिना, उपसचिव भरतराज पौडेल, हेमप्रसाद आचार्यलगायत जनप्रतिनिधि, स्वास्थ्यकर्मी र विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो।

कार्यक्रमको अध्यक्षता परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले गरेका थिए भने संचालन वरिष्ठ स्वास्थ्य प्रबन्धक नवराज तिवारीले गरेका थिए। सभापति सिग्देलले गाउँगाउँमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जानकारी दिँदै, कास्कीका प्लस टु र क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै २४ वटा कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको बताए।

कमेन्ट गर्नुहोस्
Share: