पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक पराजुली सेवा निवृत्त, सम्मानसहित बिदाई

Share:

पोखरा। पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक वसन्तप्रसाद पराजुलीलाई एक कार्यक्रमबीच बिदाई गरिएको छ। इतिहास तथा संस्कृति विभागका सेवा निवृत्त सहप्राध्यापक पराजुलीलाई आइतबार विभाग सभाहलमा आयोजित कार्यक्रममा सम्मानपूर्वक बिदाई गरिएको हो।

तीन दशक लामो शिक्षण सेवापछि सेवानिवृत्त भएका पराजुलीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। कार्यक्रममा क्याम्पस प्रमुख प्रा.डा. हरिप्रसाद पाठक, इतिहास विभागका पूर्वप्रमुख प्रा. डा. ज्ञानबहादुर कार्की, सहायक क्याम्पस प्रमुख शंकरनाथ पौडेल, विभाग प्रमुख नारायणप्रसाद ढकाल लगायतले पुष्पगुच्छा, दोसल्ला र मायाको चिनो प्रदान गरी सम्मान गरेका थिए।

क्याम्पस प्रमुख डा. पाठकले पराजुलीको शिक्षण तथा प्रशासनिक क्षेत्रमा देखिएको योगदानको चर्चा गर्दै सेवानिवृत्त जीवन सफल र सुखद् होस् भन्ने शुभकामना व्यक्त गरे। “उहाँले आफ्नो जिम्मेवारी कुशलतापूर्वक पूरा गर्नुभयो,” उनले भने, “सेवानिवृत्त भएपछि पनि उहाँ उत्तिकै सक्रिय र ऊर्जाशील रहनुहुनेछ भन्ने विश्वास छ।”

सहायक क्याम्पस प्रमुख शंकरनाथ पौडेलले पराजुलीसँगको सौहार्दपूर्ण सम्बन्धको स्मरण गर्दै निरोगी र सक्रिय जीवनको शुभकामना दिए। इतिहास विभागका पूर्वप्रमुख प्रा.डा. कार्कीले विभागलाई आजको सुदृढ अवस्थामा पुर्‍याउन पराजुलीको अग्रणी भूमिका रहेको उल्लेख गरे।

कार्यक्रमको अध्यक्षता गरेका इतिहास विभाग प्रमुख नारायणप्रसाद ढकालले पराजुलीको नेतृत्वमा विभागमा उल्लेखनीय प्रगति भएको बताए। “साधारण जीवनशैली र शालिन व्यवहार पराजुली सरको पहिचान हो,” उनले भने, “उहाँ सबैसँग घुलमिल हुन सक्ने व्यक्ति हो, त्यसैले उहाँ सधैं मनमा, मुटुमा, आँखामा रहने व्यक्ति बन्नुभएको छ। सेवा निवृत्त भए पनि विभागसँग उहाँको सहयोग रहनेछ।”

बिदाई कार्यक्रममा बोल्दै पराजुलीले शिक्षण पेशा नै आफ्नो पहिचान भएको बताउँदै शिक्षा क्षेत्रका लागि आफूले सकेको योगदान गरेकोमा सन्तुष्टि व्यक्त गरे। उनले प्राप्त सम्मान र शुभकामनाप्रति आभार प्रकट गरे।

कार्यक्रममा उपप्राध्यापक चन्द्रकान्त पौडेलले स्वागत मन्तव्य राखेका थिए भने विभागका सदस्य तोयनारायण देवकोटाले सञ्चालन गरेका थिए। लेखा प्रमुख पुष्पराज पौडेल र विद्यार्थी विपिन आचार्यले पनि पराजुलीको शैक्षिक योगदानको प्रशंसा गरेका थिए।

इतिहास विभागको तर्फबाट सहप्राध्यापक डा. दीर्घमान गुरुङ, सहप्राध्यापक अर्जुनबहादुर भण्डारी, पूर्वविभागीय प्रमुख राधा भण्डारीलगायतले पराजुलीसँगको सहकार्यका अनुभवहरू साझा गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: