गण्डकी प्रदेशमा ८५ प्रतिशत रोपाइँ सम्पन्न, धानखेतीको क्षेत्रफल अघिल्लो वर्षभन्दा घट्यो

Share:

पोखरा । गण्डकी प्रदेशमा हालसम्म ७९ हजार ८३८ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ। यो कुल अनुमानित रोपाइँ क्षेत्रफल ९४ हजार १८२ हेक्टरमध्ये झन्डै ८५ प्रतिशत हो। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार सबैभन्दा धेरै रोपाइँ बागलुङमा ९५ प्रतिशत पुगेको छ।

त्यसपछिका जिल्लाहरूको रोपाइँ प्रगतिमा लमजुङ ९३.१८ प्रतिशत, कास्की ९०.०१ प्रतिशत, तनहुँ ८८ प्रतिशत, म्याग्दी ८६.०५ प्रतिशत, स्याङ्जा ८१.८४ प्रतिशत, पर्वत ८० प्रतिशत, नवलपुर ७८.७० प्रतिशत र गोरखा ७८.४० प्रतिशत रहेका छन्।

निर्देशनालयका कृषि अर्थविज्ञ मनोज पौडेलका अनुसार अकासे पानीमा निर्भर हुने क्षेत्रहरूमा रोपाइँ ढिलो भएको छ। तर, मौसम अनुकूल रहेमा आगामी एक साताभित्र अधिकांश क्षेत्रको रोपाइँ सम्पन्न हुने अपेक्षा गरिएको छ। हिमालपारिका मुस्ताङ र मनाङबाहेक गण्डकीका सबै नौ जिल्लामा धानखेती हुने गर्दछ।

गत वर्ष प्रदेशमा ९६ हजार ५३ हेक्टरमा धानखेती गरिएको थियो। तर, यस वर्ष धानखेती क्षेत्रफल घटेर ९४ हजार १८२ हेक्टरमा सीमित हुने अनुमान गरिएको छ। घरघडेरी विस्तार, तीव्र सहरीकरण र उब्जाउ जमिनको दोहनले गर्दा धान खेतीको क्षेत्रफल खुम्चिँदै गएको कृषि विज्ञ पौडेलले जानकारी दिए। तर, क्षेत्रफल केही घटे पनि समयमै सिँचाइ, उन्नत बीउ, मल व्यवस्थापन, रोग-कीरा नियन्त्रण र प्रविधिको प्रयोग भएमा धानको उत्पादनमा वृद्धि सम्भव हुने उनको भनाइ छ।

गण्डकीमा प्राय: सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनुसली, सुनौलो सुगन्ध जस्ता धानका जातहरू लगाइन्छन्। प्रदेशमा कुल ४ लाख ७९ हजार ६१७ हेक्टर खेतीयोग्य जमिनमध्ये बर्खे र चैते गरी झन्डै एक लाख हेक्टरमा धानखेती हुँदै आएको छ।

कमेन्ट गर्नुहोस्
Share: