
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराबाट ठूलो परिमाणको लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका-५ प्रस्याङमा लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरूलाई सोमबार पक्राउ गरेको हो।
पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका-११ बस्ने २४ वर्षीय सुरज सहानी र म्याग्दीको घताङ गाउँपालिका-३ घर भई हाल पोखरा-५ प्रस्याङमा डेरा गरी बस्ने ३२ वर्षीय सुशील परियार रहेका छन्।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले सुशील परियारको कोठामा खानतलासी गर्दा लुकाइछिपाइ राखेको अवस्थामा लागूऔषध बरामद गरेको हो।
प्रहरीले उनीहरुको साथबाट डाइजेपाम ४३ एम्पुल, फेनेरगन ४३ एम्पुल (आईपिपिएल) आइपीपीएल लेखिएको ४३ एम्पुल गरी जम्मा लागूऔषध १२९ एम्पुल तथा मोबाइल २ थान सहित पक्राउ परेका दुवै जनालाई कास्की जिल्ला अदालतमा पेश गरी लागूऔषध सम्बन्धी कसूरमा अनुसन्धानका लागि ५ दिनको म्याद थप गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ।
