ऐनापहरामा बस भीरबाट खस्दाको डरलाग्दो सीसीटीभी फुटेज सार्वजनिक, हाम फालेर बचे यात्रु

Share:

तनहुँ । गोरखाबाट नारायणगढतर्फ जाँदै गरेको एक यात्रुवाहक बस तनहुँको ऐनापहरामा भीरबाट खस्दाको डरलाग्दो सीसीटीभी फुटेज सार्वजनिक भएको छ। आइतबार दिउँसो आँबुखैरेनी गाउँपालिका-२ स्थित ऐनापहराको पार्किङबाट निकाल्ने क्रममा ग२ख १०७७ नम्बरको बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन्, जसमध्ये २ जनाको अवस्था गम्भीर छ।

सार्वजनिक भएको सीसीटीभी फुटेजमा बस दुर्घटनाको त्रासदीपूर्ण दृश्य कैद भएको छ। फुटेजमा चालकले बसलाई पार्किङबाट ब्याक गर्ने बित्तिकै बस अनियन्त्रित भई तीव्र गतिमा पछाडि हुत्तिएको देखिन्छ। ब्रेक फेल भएको थाहा पाएपछि आत्तिएका यात्रुहरू बसको ढोकाबाट हाम फालेर ज्यान जोगाउन सफल भएका थिए। करिब ८ जना यात्रु बस भीरबाट खस्नुअघि नै हाम फालेको फुटेजमा स्पष्ट देखिन्छ।

इलाका प्रहरी कार्यालय, आँबुखैरेनीका अनुसार घुम्न हिँडेका यात्रु बोकेको बस आरामका लागि ऐनापहरामा रोकिएको थियो। पार्किङबाट निकालेर स्टार्ट गर्ने क्रममा बसको ब्रेक फेल भई सडकबाट करिब ५० मिटर तल मर्स्याङ्दी नदी किनारको भीरमा खसेको हो।

प्रहरी नियन्त्रणमा रहेका चालकले पनि बसको ब्रेक फेल भएका कारण दुर्घटना भएको बयान दिएका छन्। दुर्घटनामा परेको बसको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने क्रेनको सहायताले बसलाई भीरबाट बाहिर निकालिएको छ।

प्रहरीले बसमा करिब १३ जना यात्रु सवार रहेको अनुमान गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: