
पोखरा। जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराबाट ठूलो परिमाणको लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका-२७, रिठ्ठेपानीमा लागूऔषधको कारोबार भइरहेको विशेष सूचनाको आधारमा प्रहरीले २४ वर्षीय राजन गुरुङलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, लागूऔषध नियन्त्रण ब्युरो, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय शिशुवाको संयुक्त टोलीले सोमबार साँझ करिब ६ बजे गुरुङको कोठामा छापा मारेको थियो।
धादिङ घर भई हाल पोखरा-२७, रिठ्ठेपानीमा बस्दै आएका गुरुङको कोठा खानतलासी गर्दा झोलामा लुकाइराखेको अवस्थामा लागूऔषध बरामद भएको हो।
प्रहरीले उनको साथबाट जम्मा ६५८ एम्पुल लागूऔषध र एक थान मोबाइल बरामद गरेको छ।
पक्राउ परेका गुरुङलाई कास्की जिल्ला अदालतमा पेश गरी लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धानका लागि सात दिनको म्याद थप गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
