गण्डकीमा प्रदेश प्रेस रजिष्ट्रार कार्यालयको उद्घाटन, पत्रकारिता क्षेत्रलाई व्यवस्थित गर्ने लक्ष्य

Share:

पोखरा। गण्डकी प्रदेशमा सञ्चार क्षेत्रको नियमन, पारदर्शिता र पेशागत पत्रकारिता प्रवर्द्धनका लागि स्थापना गरिएको प्रदेश प्रेस रजिष्ट्रार कार्यालयको औपचारिक उद्घाटन सोमबार पोखरामा सम्पन्न भएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कार्यालयको उद्घाटन गर्दै स्वतन्त्र प्रेस लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गरे। उनले भने, “प्रेस स्वतन्त्रतासँगै उत्तरदायित्व पनि अनिवार्य हुन्छ। प्रदेश सरकारले यही लक्ष्यसहित प्रेस रजिष्ट्रार कार्यालय स्थापना गरेको हो।”

मुख्यमन्त्री पाण्डेले पत्रकारिता व्यवसायमा कानुनी स्पष्टता, अभिलेख व्यवस्थापन र पारदर्शिता अभिवृद्धि गर्न यो कार्यालयले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। साथै, प्रदेश सरकारले पत्रकारिताको स्वतन्त्रता, पेशागत अधिकार र जिम्मेवार सञ्चारलाई प्रोत्साहन गर्न आवश्यक नीतिगत, संरचनात्मक र स्रोतगत सहयोग निरन्तर गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।

संस्थागत संरचना र कार्यक्षेत्रबारे स्पष्टता

कार्यक्रममा गण्डकी प्रदेश सरकारका प्रमुख सचिव डा. खगेन्द्रप्रसाद सुवेदीले पनि प्रेस स्वतन्त्रताको संरक्षण र जिम्मेवार पत्रकारिताको विकासमा रजिष्ट्रार कार्यालयको भूमिका महत्वपूर्ण हुने बताए। उनले प्रदेश सरकारले संस्थालाई आवश्यक नीति, संरचना र स्रोतसाधनमार्फत सुदृढ बनाउने धारणा राखे। प्रेस रजिष्ट्रार विमला भण्डारीले कार्यालयको उद्देश्य, कानुनी अधिकार र कार्यक्षेत्रबारे विस्तृत जानकारी दिँदै भनिन्, “यो कार्यालय दर्ता र नविकरणको निकाय मात्र नभई पत्रकारिता क्षेत्रमा पारदर्शिता, उत्तरदायित्व र पेशागत मर्यादा कायम गर्ने अभिभावक संस्था हो।”

उनका अनुसार कार्यालयले निम्न कार्यहरूमा संलग्न रहनेछ । जसमा सञ्चार माध्यमहरूको वार्षिक योजना तथा कार्यक्रम निर्माण, सञ्चार संस्थालाई सञ्चालन अनुमति र नविकरण, १०० देखि १,००० वाट क्षमतासम्मको एफएम रेडियो इजाजत, छापा, अनलाइन, टेलिभिजन तथा केबल वितरकहरूको अभिलेख व्यवस्थापन, फ्रिक्वेन्सी योजना निर्माण, गुनासोको सुनुवाई, अनुसन्धान र मूल्याङ्कन, श्रमजीवी पत्रकारको सेवा–सुविधा अनुगमन, पत्रकार कल्याणकारी कोष, विज्ञ सूची निर्माण, तालिम तथा छात्रवृत्तिको समन्वय, लोककल्याणकारी विज्ञापन वितरण, वर्गीकरण र सिफारिसलगायत प्रदेश सरकार, सञ्चार संस्था र पत्रकारबीच समन्वय गरिनेछ ।

अनलाइन मिडिया दर्तामा विशेष ध्यान

भण्डारीले गण्डकी प्रदेश सरकारले तयार पारेको आमसञ्चार विधेयकमा अनलाइन पत्रिका दर्ता तथा नविकरणसम्बन्धी स्पष्ट प्रावधानहरू समेटिएको जानकारी दिइन्। उक्त कार्य प्रेस रजिष्ट्रार कार्यालयमार्फत प्रभावकारी रूपमा कार्यान्वयन गर्दै जाने प्रतिबद्धता जनाइन्। उनले भनिन्, “अनलाइन मिडियाको दिगो विकास, पारदर्शिता र गुणस्तर वृद्धिमा कार्यालयले विशेष ध्यान दिनेछ।”

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य केशव शरण लामिछाने, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेल लगायतका वक्ताहरूले बोल्दै कार्यालयको स्थापना गण्डकीको सञ्चार क्षेत्रमा संस्थागत सुधारको नयाँ युगको थालनी भएको बताएका थिए। कार्यक्रममा प्रदेश सरकारका उच्च पदाधिकारी, पत्रकार संगठनका प्रतिनिधिहरू, सञ्चारकर्मी र विभिन्न सञ्चार संस्थाका पदाधिकारीहरूको उपस्थिति थियो।

कमेन्ट गर्नुहोस्
Share: