लेकसिटी कलेजद्वारा ‘पढ्दै कमाउँदै’ परियोजना सञ्चालन

Share:

पोखरा । पोखरास्थित लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरले आफ्ना विद्यार्थीहरूका लागि ‘पढ्दै कमाउँदै’ नामक नयाँ कार्यक्रम सुरु गरेको छ। परियोजनाको उद्देश्य विद्यार्थीलाई व्यवहारिक ज्ञान, सीप र कार्यानुभव प्रदान गर्नुरहेको छ। कलेजका अनुसार विद्यार्थीहरूले पोखराका विभिन्न संघसंस्था र समुदायमा पुगेर अध्ययन, अनुसन्धान र व्यावसायिक अभ्यास गर्नेछन्। परियोजनामा सहभागी विद्यार्थीलाई कलेजले पारिश्रमिकसमेत प्रदान गर्नेछ।

मंगलबार कलेज परिसरमा आयोजित कार्यक्रममा परियोजनामा सहभागी छ जना विद्यार्थीलाई नियुक्तिपत्र प्रदान गरिएको छ। नियुक्त हुने विद्यार्थीहरूमा बीएएसडब्लु र बीबीएस तहमा अध्ययनरत पौसली गुरुङ, अनिशा सुनार, सम्झना भट्टराई, सुलभ पुन, प्रशंसा कायस्थ र श्रीजा श्रेष्ठ रहेका छन्। उनीहरू मंगलबारदेखि नै कार्यक्षेत्रमा खटिएका छन्।

कलेज सञ्चालक समिति अध्यक्ष प्रा.डा. विश्वकल्याण पराजुलीले सैद्धान्तिक ज्ञान मात्र होइन, व्यवहारिक सीप पनि आवश्यक भएकाले यस्तो परियोजना सुरु गरिएको जानकारी दिए। “विद्यार्थीलाई कार्यक्षेत्रमै खटाएर व्यवहारिक ज्ञान दिनु नै हाम्रो उद्देश्य हो,” उनले भने।

त्यस्तै, क्याम्पस प्रमुख नारायण कुमार श्रेष्ठले विद्यार्थीलाई उत्प्रेरित गर्न र अध्ययनसँगै सीप विकासमा जोड दिन यो परियोजना थालिएको बताए। यस परियोजनालाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ उनको भनाइ छ ।

विद्यार्थीहरूलाई ‘कलेज भोलिन्टियर’ को पदमा नियुक्त गरिएको हो। उनीहरूले लेकसिटी कलेजका नियमित शैक्षिक तथा अनुसन्धान गतिविधिमा समेत सहभागी हुनेछन्। सहायक क्याम्पस प्रमुख शोभाकान्त सिग्देलका अनुसार उनीहरू अध्ययन अनुसन्धानमा कलेजलाई सहकार्य गर्ने दूतका रूपमा समेत काम गर्नेछन्।

त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त लेकसिटी कलेजको स्थापना विसं २०६४ मा भएको हो। हाल कलेजमा करिब ३५० विद्यार्थी अध्ययनरत छन्। कलेजले शैक्षिक गतिविधिसँगै विद्यार्थीलाई संलग्न गराई विभिन्न सामाजिक कार्यक्रमहरू-रक्तदान, वृक्षरोपण, शैक्षिक भ्रमण, अवलोकन लगायत-आयोजना गर्दै आइरहेको छ।

कलेजअन्तर्गत रहेको सामाजिक विज्ञान केन्द्रले हरेक महिना विभिन्न विषयमा मौलिक प्रस्तुतिका साथ ‘कचहरी कार्यक्रम’ सञ्चालन गर्दै आएको छ। कलेजमा स्नातक तहमा व्यवस्थापन संकायअन्तर्गत बीबीएस, तथा मानविकी संकायअन्तर्गत पत्रकारिता तथा आमसञ्चार, समाजशास्त्र, अंग्रेजी साहित्य र सामाजिक कार्य (बीएएसडब्लु) विषयमा पठनपाठन हुँदै आएको छ।

कमेन्ट गर्नुहोस्
Share: