
रञ्जन अधिकारी पोखरा, ३१ भदौ /क्षेत्रीय बाली संरक्षण प्रयोगशाला, पोखराले विहीबार आर्थिक वर्ष २०७२÷०७३ को वार्षिक स्वीकृत कार्यक्रम सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । हरेक जनसरोकारसँग सम्बन्धित कार्यालयले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गर्न सरकारले गरेको परिपत्र अनुसार कृषि विकास मन्त्रालय, कृषि विभाग, बाली संरक्षण निर्देशनालय अन्तर्गत रहेको यस प्रयोगशालाले यसवर्षदेखि सार्वजनिक सुनुवाई कार्यक्रम राखेको हो ।
कार्यक्रममा बाली संरक्षण अधिकृत शिवराज बरालले सो अवसरमा यस आर्थिक वर्षको स्वीकृत कार्यक्रम सम्बन्धमा कार्यपत्र प्रस्तुत गरे । उनले क्षेत्रीय स्तरको बाली संरक्षण कार्यक्रम सम्बन्धमा जानकारी गराउँदै व्यावसायिक कृषि कार्यक्रमलाई प्रभावकारी तुल्याउन बाली संरक्षण सेवा, एकीकृत शत्रुजीव व्यवस्थापन (आईपीएम), आन्तरिक तथा बाह्य प्लाण्ट क्वारण्टिन, विषादी व्यवस्थापन जस्ता कार्यक्रमहरु समन्वयात्मक रुपमा संचालन तथा सहयोग गर्ने जनाए ।
बाली संरक्षण कार्यक्रम अन्तर्गत बालीका लागि शत्रुजीव तथा मित्र जीवबारे जानकारी लिन सर्भे कार्यक्रम, क्षेत्रीय स्तरमा विभिन्न बालीका शत्रुजीवको मानचित्र तयार, समस्यागत अभियानमुलक बाली संरक्षण कार्यक्रम संचालन, रोगकीकारो संग्रहालय स्थापना र निरन्तरता, प्रमुख बालीका शत्रुजीव न्यूनिकरण गर्न विभिन्न प्रयासहरु गरिने उनले जनाए । यस्तै, विषादी व्यवस्थापन कार्यक्रम अन्तर्गत विषादीको क्षेत्रीय खपत अभिलेख तयार हुने, विषादीको गुणस्तर र अवशेष जाँच सम्बन्धी कार्य, क्षेत्रीय स्तरमा विषादीको वार्षिक खपतको अभिलेख तयार, घरेलु एवं जैविक विषादी प्रवद्र्धनात्मक चेतनामूलक कार्यक्रम, विषादीको नकरात्मक प्रभाव तथा यसबाट बच्ने उपाय बारेमा विभिन्न चेतनामूलक कार्यक्रम गरिने बरालले जनाए । बाली उपचार शिविर अन्तर्गत कृषक स्तरमा बाली उपचार शिविर संचालन गर्ने र जिल्लाहरुमा बाली उपचार शिविर संचालनमा सहयोग गर्ने गराउने रहेका छन् भने सार्वजनिक सुनुवाई कार्यक्रम, सार्वजनिक स्थानमा विषादीको असर बारे जनचेतनाका लागि होर्डिङबोड, क्षतिपूर्ति सहितको नागरिक बडापत्र, सूचना अधिकारीको व्यवस्था लगायतमा कार्यालयले ध्यान दिएको उनले बताए ।
सो अवसरमा सहभागीहरुले बाली संरक्षण शिविर, माटो उपचार शिविर लगायतका एकै प्रकृतिका कार्यक्रम एकै स्थान र समयमा संचालन गरे कृषकहरुले लाभ लिन सक्ने भएकाले यसबारे कार्यालयको ध्यानाकर्षण गराएका थिए । माटो, बिऊ, बाली सम्बन्धमा कृषकलाई अझै बुझाउनुपर्ने खाँचो औंल्याउँदै उनीहरुले क्षेत्रीय आईपीएम कृषक समितिलाई क्रियाशील बनाउन पनि आग्रह गरे । कृषक लक्षित कार्यक्रम भएकाले उनीहरुको सहभागिता हुनुपर्ने भन्दै आगामी दिनमा यसतर्फ ध्यान दिन पनि आयोजकको ध्यानाकर्षण गराए ।
प्रमुख अतिथि पश्चिमाञ्चल निमित्त क्षेत्रीय प्रशासक दिवाकार बास्तोलाले सरकारको सुशासन कार्यक्रम अन्तर्गत जनसरोकार रहने कार्यालयबाट प्रत्येक चार महिनामा यस्ता सुनवाईमुलक कार्यक्रम गर्नुपर्ने सुशासन व्यवस्था ऐनमा उल्लेख भएकाले कार्यालयले सुरु गरेकोमा खुशी व्यक्त गरे । लाभान्वित पक्षको सहभागितामा जोड दिँदै कमीकमजोरी, सुझाव मनन गर्दै अघि बढ्न जोड दिँदै उनले कृषिमुलक देशमा व्यवसायिक खेतीमा कार्यालयको भूमिका महत्वपूर्ण रहने भएकाले ध्यान दिन आग्रह गरे ।
कार्यक्रमको अध्यक्षता समेत गरेका निमित्त क्षेत्रीय कृषि निर्देशक हृदयनाथ घिमिरेले यथेष्ट बजेट नभएपनि क्षेत्रीय कृषि कार्यालय जिल्ला कृषि विकास कार्यालयसँग बजेट एकीकृत गर्दै उपलब्धीपूर्ण हिसावबले कृषक लक्षित कार्यक्रम गर्न ईच्छुक रहेको जनाए । उनले कृषकसँग सरोकार राख्ने कार्यक्रमहरु गर्न विभिन्न जिल्ला स्थित कार्यालयहरुसँग समन्वय गर्दै बाली संरक्षण एवं उत्पादन वृद्धिमा लागिपर्ने विश्वास दिलाए ।
क्षेत्रीय माटो परीक्षण प्रयोगशालाका वरिष्ठ माटो विज्ञ ईन्द्र बहादुर ओलीले कस्तो माटोमा कस्तो बाली लगाउने ? लगायत सम्बन्धमा कृषकहरुलाई बुझाउन जरुरी रहेको उल्लेख गरे ।
जिल्ला कृषि विकास कार्यालय, कास्कीका वरिष्ठ कृषि विकास अधिकृत रमेशप्रसाद कोईरालाले यस क्षेत्रका १६ जिल्लालाई नै बजेटको परिधिभित्र रहेर काम गर्न सुझाव दिँदै कार्यक्रमहरु परिमार्जन गर्न जरुरी रहेको बताए । उनले कास्की जिल्ला प्राङ्गरिकमय हुँदै गएको र यहाँ विषादी प्रयोग घट्दै गएको जानकारी गराए ।
क्षेत्रीय आईपीएम कृषक समितिका अध्यक्ष चित्रनाथ पौडेलले एकीकृत शत्रुजीव व्यवस्थापनको अवधारणा बाली अवधिभर कस्ता कस्ता रोग, यसका नियन्त्रण, माटो बचाउ तथा मानव स्वास्थ्यका सवाल, उत्पादन बढावा गर्ने उद्देश्यका साथ अघि सारिएको तर विभिन्न कारणले समितिले चाहेजस्तो काम गर्न नसकिरहेको बताए । माटो व्यवस्थापनदेखि बजारसम्म पु¥याउने बेलासम्मै प्राविधकको निगरानी रहने प्रणाली आईपीएम भएपनि आईपीएम सहजकर्ताको पहुँच सबै जिल्लामा नभएको, नियमित बैठकमा १६ जिल्लाबाटै उपस्थिति हुन कठिनाई रहेको उनले बताए । कार्यक्रको संचालन प्रयोगशालाका चित्रकला अधिकृत जगन्नाथ सुवेदीले गरेका थिए ।
