धम्पुसमा ९औं हरितालिका तीज मेला भव्य रूपमा हुने, विविध सांस्कृतिक कार्यक्रम समावेश

Share:

पोखरा। हरितालिका तीजको अवसरमा हिमशिखर युवा क्लब, धम्पुसले ९औं हरितालिका तीज मेला तथा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। कार्यक्रम भदौ ९ गतेदेखि ११ गतेसम्म धम्पुस-७ स्थित सत्लेमा आयोजना गरिने क्लबले जानकारी दिएको छ।

“विकासका लागि युवाशक्ति” भन्ने मूल नाराका साथ स्थापित क्लबले आफ्नो स्थापना कालदेखि नै खेलकुद, पर्यटन, संस्कृति र सामाजिक चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

यसपटकको तीज मेला विगतका वर्षहरूभन्दा अझ भव्य, व्यवस्थित र समावेशी हुने आयोजकको भनाइ छ। मेलामा स्थानीय भलिबल खेलाडीहरूबीचको प्रतिस्पर्धा, नाचगान, लोक गीत र सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिनेछ।

क्लबका सचिव अनिल सुनारका अनुसार, मेलाको मुख्य आकर्षणमा महिला भलिबल, पुरुष भलिबल, रस्सी तान्ने, ठेलो हान्ने, एकल तथा सामूहिक नृत्य जस्ता प्रतिस्पर्धात्मक कार्यक्रमहरू रहने छन्।

उनले भने, “मेलालाई थप आकर्षक बनाउन मञ्चलाई ग्रामीण संस्कृति र सौन्दर्य झल्किने गरी सजाइनेछ। स्थानीय लोकसंस्कृति, हस्तकला, कृषि उत्पादन र कला–साहित्यले विशेष स्थान पाउनेछन्।”

साथै, मेलाले मनोरञ्जनसँगै समुदायको आर्थिक गतिशीलता र सामाजिक समावेशितामा पनि योगदान दिने अपेक्षा गरिएको उनले बताए। कार्यक्रमको तयारी अहिले अन्तिम चरणमा पुगेको क्लबले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
Share: