पोखरामा तेस्रो ऐतिहासिक टुंडिखेल तीज महोत्सव हुँदै, पूर्वप्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

Share:

पोखरा। “हाम्रो संस्कृति, हाम्रो पहिचान- लोपोन्मुख संस्कृतिको संरक्षण हाम्रो अभियान” भन्ने नारासहित पोखरा महानगरपालिका-१ स्थित टुंडिखेलमा तेस्रो संस्करणको ऐतिहासिक टुंडिखेल तीज महोत्सव २०८२ आयोजना हुने भएको छ।

इन्द्रेणी एकीकृत विकास केन्द्रको आयोजनामा तथा विद्युत सवारी निर्माता कम्पनी BYD को मुख्य प्रायोजनमा साउन २५ गते शुक्रबारदेखि सुरु हुने महोत्सव भदौ १५ गतेसम्म सञ्चालन हुनेछ। कार्यक्रमको उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा गरिने आयोजक केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिए।

झाँकी र्यालीसहित उद्घाटन

महोत्सवको उद्घाटन अवसरमा रानो टुंडिखेलबाट विभिन्न संघ–संस्था, आमा समूह, विद्यालय र जातीय समुदायको सहभागितामा झाँकीसहितको र्याली निकालिनेछ। र्यालीले हरिचोक, सिम्पानी चोक, माछापुच्छ्रे बैंक चोक, गणेश मेडिकल हल, जिल्ला शिक्षा कार्यालय, पृथ्वीनारायण क्याम्पस, ट्राफिक्स चोक, बागबजार ठाडो लाइन, बिन्ध्यवासिनी मन्दिर हुँदै पुनः टुंडिखेलमा पुगेर समापन हुनेछ। र्यालीमा सहभागि समूहमध्ये उत्कृष्ट भेषभूषा, सर्वोत्कृष्ट झाँकी तथा बढी सहभागिता प्रदर्शन गर्ने समूहलाई नगदसहित सम्मान गरिने संयोजक पदमबहादुर गुरुङले जानकारी दिए।

विभिन्न प्रायोजकको साथ

महोत्सवमा Tuborg Beer को सहप्रायोजन, गृहलक्ष्मी ग्यास, कर्मा इन्टरनेशनल इम्प्लोयमेन्ट प्रा.लि. काठमाडौं को उपप्रायोजन रहेको छ। साथै, बाल्ट्रा होम एप्लायन्सेस, राष्ट्रिय वाणिज्य बैंक, सालिको इन्स्योरेन्स, राष्ट्रिय माध्यमिक विद्यालय, गण्डकी प्रदेश सरकार (सामाजिक विकास तथा खेलकुद मन्त्रालय, पर्यटन तथा उद्योग मन्त्रालय), पोखरा महानगर, माछापुच्छ्रे गाउँपालिका, अन्नपूर्ण गाउँपालिका लगायत विभिन्न संघ-संस्थाहरूले सहयोग गर्नेछन्।

आकर्षक स्टल र सांस्कृतिक कार्यक्रम

१० दिने महोत्सवमा १५० व्यापारिक स्टल, १२ रेस्टुरेन्ट स्टल, वाल उद्यान, हस्तकला, कृषि, लत्ताकपडा, बैंक तथा वित्तीय संस्था आदि स्टलहरू रहनेछन्। राष्ट्रिय तथा स्थानीय कलाकारहरूको दैनिक सांस्कृतिक प्रस्तुति पनि महोत्सवको आकर्षण हुने आयोजकले जनाएका छन्।

महोत्सवमा विभिन्न मौलिक प्रतियोगिता समेत सञ्चालन हुनेछन् । जसमा प्रथम हुनेलाई ३५ हजार ५ सय ५५ रुपैयाँ द्वितीय हुनेलाई २० हजार ५ सय ५५, तृतीयलाई १० ५ सय ५५, सान्त्वना हुनेलाई ५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ।

एकल नृत्य प्रतियोगिता तर्फ प्रथम हुनेलाई १२ हजार ५ सय ५५, द्वितीय ७ हजार ५ सय ५५, तृतीय ५ हजार ५ सय ५५, सान्त्वना ३ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार दिइनेछ।

छेलो हान्ने प्रतियोगितातर्फ प्रथम हुनेलाई १२ हजार ५ सय ५५, द्वितीय ७ हजार ५ सय ५५, तृतीय ५ हजार ५ सय ५५, सान्त्वना ३ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार दिइनेछ।

ढिकी–जातो प्रतियोगितातर्फ प्रथम हुनेलाई १२ हजार ५ सय ५५, द्वितीय ७ हजार ५ सय ५५, तृतीय ५ हजार ५ सय ५५, सान्त्वना ३ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार दिइनेछ। उत्कृष्ट भेषभूषा तथा नृत्यतर्फ पनि छुट्टै नगद पुरस्कार प्रदान गरिनेछ। प्रतियोगिता व्यवस्थापन उपसमितिका संयोजक डिल्लीराम सुवेदीले यसबारे जानकारी दिएका हुन्।

महोत्सवका प्रमुख उद्देश्यहरूमा लोपोन्मुख संस्कृति तथा परम्परागत तीज पर्वको संरक्षण, महिला सशक्तीकरणमा योगदान, घरेलु उत्पादन तथा सिपको प्रवर्द्धन तथा पर्यटन प्रवर्द्धन रहेका छन्।

इन्द्रेणी एकेडेमी आवासीय भवन निर्माण र शवयात्रा वाहन सञ्चालन सहयोग

आय–व्यय अनुमानअनुसार, महोत्सवबाट ६९ लाख आम्दानी, ६४ लाख ५० हजार खर्च र ४ लाख ५० हजार बचत हुने अपेक्षा गरिएको छ। बचत रकम सामाजिक कार्यमा खर्च गरिने जानकारी कोषाध्यक्ष तथा आर्थिक व्यवस्थापन उपसमितिका संयोजक वेदप्रसाद वस्तीले दिएका छन्।

कमेन्ट गर्नुहोस्
Share: