पोखराको लामाचौरमा २७औं तीज महोत्सव २०८२ आइतबारदेखि सुरु हुँदै

Share:

पोखरा। नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा पोखरा-२७ लामाचौरमा २७औं लामाचौर तीज महोत्सव-२०८२ भदौ ८ गते आइतबारदेखि सुरु हुँदैछ। तीन दिनसम्म सञ्चालन हुने महोत्सवको औपचारिक उद्घाटन आइतबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्ने प्रचारप्रसार संयोजक विष्णु प्रसाद गौतमले जानकारी दिए।

महोत्सवको मुख्य आकर्षण ‘लामाचौर कप अन्तर मावि छात्रा भलिबल प्रतियोगिता’ शनिबारदेखि नै सुरु भइसकेको छ। पोखरा एक्सपर्ट एजुकेशन लामाचौर कप अन्तर्गत सञ्चालित प्रतियोगितामा विभिन्न विद्यालयका ११ टिम सहभागी छन्। पहिलो दिन ७ खेल सम्पन्न भएका थिए, जसमा सिर्जना मावि, टप्स मावि, शान्त मावि र पोखरा युनाइटेड माविले सेमिफाइनलमा स्थान बनाएका छन्।

आइतबार बिहान ८ बजे पहिलो सेमिफाइनलमा सिर्जनाले टप्स र दोस्रो सेमिफाइनलमा शान्तले पोखरा युनाइटेडको सामना गर्ने खेल संयोजक शंकर केसीले बताए। पहिलो खेलमा सिर्जनाले सेन्ट मेरिजलाई २५–७ र २५–१५ तथा दोस्रो चरणमा इन्द्रराज्यलक्ष्मी माविलाई २६-२४ र २५-१५ को सोझो सेटमा हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो।

त्यस्तै, टप्सले पश्चिमाञ्चललाई २-१ सेटमा हराउँदै विजयी यात्रा सुनिश्चित गरेको थियो। २०-२५, २५-१३ र २५-२१ सेटमा हराएको टप्स क्वाटरफाइनलमा बालमन्दिरको चुनौती २५-१६ र २५-१२ सेटमा पन्छाउँदै अन्तिम चारमा पुग्यो।

शान्तले प्रतिभा र केफ माविलाई हराउँदै पोखरा युनाइटेडसँग सेमिफाइनल सुनिश्चित गरेको छ। उसले प्रतिभालाई २५-१८ र २५-१९ तथा केफलाई २५-१४ र २५-१९ को सोझो सेटमा हराएको हो। बाईमा परेको पोखरा युनाइटेडले कन्या माविलाई सोझो सेटमै २५-१३ र २५-१९ मा हराउन सफल भएको हो।

लामाचौर तीज महोत्सव-२०८२’ को मुख्य आकर्षण लामाचौर कप भलिबल हो।  इन्द्रराज्यलक्ष्मी मावि प्रागंणमा भदौ ८ देखि १० गतेसम्म लामाचौर कप सहित तीज गीत प्रतियोगिता, विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, श्रष्ट्रा सम्मान र छात्रवृत्ति प्रदान सहितका विविध राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगीतिक एवं सांस्कृतिक प्रस्तुति रहने बताइएको छ।

कमेन्ट गर्नुहोस्
Share: