एभरेष्ट इन्जिनियरिङ कलेजमा ‘हिमाली जलाधारमा एसडब्लुएटीको प्रयोग’ विषयक तालिम सम्पन्न

Share:

पोखरा । पोखरा विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ शिक्षामा स्नातक तथा स्नातकोत्तर तहमा शिक्षा प्रदान गर्दै आइरहेको ललितपुर सानेपास्थित एभरेष्ट इन्जिनियरिङ कलेजमा ‘हिमाली जलाधारमा SWAT को प्रयोग’ विषयक १० दिने तालिम आज सफलतापूर्वक सम्पन्न भएको छ।

सिभिल इन्जिनियरिङ विभागका शिक्षकहरू, विभिन्न संस्थाका प्राविधिकहरू, र हालै स्नातक तह पूरा गरेका विद्यार्थीहरूसहित १० जना प्रशिक्षार्थीले उक्त तालिममा सहभागिता जनाएका थिए।

हिमाली जलाधारको अध्ययन जटिल हुने भए पनि SWAT (Soil and Water Assessment Tool) सफ्टवेयरको प्रयोगबाट जलाधारको विस्तृत विश्लेषण गर्न सकिने भएकाले हाल नेपालसहित विभिन्न देशहरूमा यसको प्रयोग तीव्र रूपमा बढ्दो छ। भू-आकृति, वर्षा, जमिनको बनावट, वनस्पति आदि विषयवस्तुलाई कम्प्युटरमा प्रतिविम्बित गरी बाढी, पहिरो, र डुबानजस्ता विपद्का घटनाहरूको पूर्वानुमान गर्न सकिने भएकाले SWAT उपयोगी मानिएको छ।

तालिममा सहभागी प्रशिक्षार्थीहरूले SWAT सफ्टवेयरको प्रयोगबाट जलाधारको माथिल्लो भागमा पर्ने वर्षाको असर तल्लो भागमा कस्तो देखिन्छ भन्ने अध्ययन गर्न सकिने जानकारी प्राप्त गरेका थिए। यसले समयमै पूर्वसूचना दिन सहयोग पुर्‍याउने भएकाले विपद् न्यूनीकरणमा समेत सहयोग पुग्ने प्रशिक्षकहरूको भनाइ थियो।

प्रशिक्षार्थीहरूको प्रतिक्रिया र उपयोगिता

प्रशिक्षार्थीहरूले तालिमबाट आफूहरूको आत्मविश्वास बढेको महसुस गरेका छन्। सहभागीमध्ये धेरैजसो प्रशिक्षार्थी स्वयं शिक्षक पनि रहेकाले आगामी सेमेस्टरहरूमा विद्यार्थीहरूलाई SWAT सफ्टवेयर प्रयोग गरी प्रोजेक्ट गराउने योजना रहेको बताएका छन्। उनीहरूले तालिमको अनुभव आफ्ना विद्यावारिधी (PhD) अध्ययन तथा कन्सल्टिङ काममा पनि उपयोग गर्ने बताएका छन्।

केही प्रशिक्षार्थीहरूले SWAT प्रयोगमा आधारित अनुसन्धान प्रस्ताव तयार पार्ने जनाएका छन्। तालिमबाट प्राप्त ज्ञानले उनीहरूलाई वातावरण, जलवायु परिवर्तन, र जल व्यवस्थापन सम्बन्धी अनुसन्धान तथा व्यावसायिक क्षेत्रमा थप योगदान दिन सक्षम बनाउने विश्वास व्यक्त गरिएको छ।

मुख्य प्रशिक्षक र समापन कार्यक्रम

SWAT सफ्टवेयरमा विशेषज्ञता हासिल गरिसकेका जलविद्युत इन्जिनियर रूपेश बानिया तालिमका प्रमुख प्रशिक्षक थिए। तालिम अवधिभर प्रशिक्षार्थीहरूको ल्यापटपमा SWAT सफ्टवेयर इन्स्टल गरिएकोले उनीहरूले अभ्यास सँगसँगै सिक्न पाएका थिए।

तालिम समापन कार्यक्रममा एभरेष्ट इन्जिनियरिङ कलेजका प्रमुख कार्यकारी अधिकृत श्री अरुण कुमार भण्डारी तथा सहायक प्रिन्सिपल इन्जिनियर राजन लामाले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए।

कार्यक्रममा सिभिल इन्जिनियरिङ विभाग प्रमुख इन्जिनियर रोमहर्ष ओली, कम्प्युटर इन्जिनियरिङ विभाग प्रमुख इन्जिनियर मुकुन्द पौडेल, स्नातकोत्तर कार्यक्रम संयोजक इन्जिनियर नारायण सापकोटा, वरिष्ठ लेक्चरर राजेन्द्र भट्टराई तथा प्रशासन प्रमुख एकराज आचार्यले प्रशिक्षार्थीहरूलाई बधाई तथा शुभकामना दिएका थिए।

भविष्यका योजना

प्रशिक्षार्थीहरूले तालिम व्यवस्थापनप्रति सन्तुष्टि व्यक्त गर्दै आगामी दिनमा जलवायु परिवर्तन, कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोग, र हाइड्रोलिक मोडलिङसम्बन्धी यस्तै व्यवहारिक तालिमहरू सञ्चालन गर्न कलेजलाई सुझाव दिएका थिए।

एभरेष्ट इन्जिनियरिङ कलेजले व्यवहारिक र रोजगारीमा सहायक तालिमहरू नियमित रूपमा सञ्चालन गर्दै आएकोले यहाँ अध्ययनरत विद्यार्थीहरूलाई अध्ययन पश्चात् रोजगारी प्राप्ति सहज भएको बताइएको छ।

कमेन्ट गर्नुहोस्
Share: